आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा २०७२ सालमा भुकम्प जादा पिडित भएका भूकम्प पिडितहरुलाई राहत रकम दिने भनि हस्ताक्षर गराई हालसम्म पनि राहत रकम नदिएको काण्डको छानबिन हुने भएको छ। यस सम्बन्धि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि घटनाको छानबिन हुने भएको हो।
तात्कालिन आँबुखैरेनीका गाविस सचिवले २०७२ सालको भुकम्पमा परि पूर्ण क्षति भएका पिडितहरुलाई सरकारले उपलब्ध गराएको प्रति पिडित १५ हजार रकम पछि उपलब्ध गराउने भन्दै एक रुपैयाँ पनि नदिई पिडितलाई रकम बुझेको भन्दै हस्ताक्षर गर्न लगाएका थिए। उक्त बेलामा हस्ताक्षर गर्ने कयौ पिडितहरुले अहिलेसम्म रकम पाउन सकेका थिएनन्।
सो सम्बन्धमा आयोगले जिल्ला प्रशासन कार्यालय तनहुँलाई आवश्यक छानबिन गरी दोषीलाई कारवाही गर्न पत्राचार गरेपछि जिल्ला प्रशासनले गाउँपालिकालाई साउन ४ गते पत्र काटेको थियो। सोहि बमोजिम आज आईतबार गाउँपालिकाले त्यो बेला रकम बुझेको भनी हस्ताक्षर गरेका तर रकम नपाएका पिडितहरुलाई निवेदन दिन सार्वजनिक आह्वान गर्दै सूचना जारी गरेको छ ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले दिएको जानकारी अनुसार सूचना जारी पश्चात अबको एक हप्ता भित्रमा पिडितहरुको निवेदन संकलन गरि आवश्यक छानबिन र कारवाहिको लागि सम्बन्धित निकायमा पठाइनेछ।
उक्त समयमा तात्कालिन आँबुखैरेनी गाविसको सचिवमा दुर्गा थापा कार्यरत थिए।
