मुग्लिन,१४ साउन । तमू ह्यूल छोजधीँ (गुरुङ राष्ट्रिय परिषद) का अध्यक्ष कर्ण बहादुर गुरुङले आफ्नो पहिचान बचाउनका लागि संसारभरका गुरुङहरु एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । इच्छाकामना गाउँपालिका स्तरिय दोश्रो अधिवेशनको आज समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले आफ्नो जातीको पहिचान बचाउनका लागि एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको हो ।उहाँले तमू ह्यूल छोँजधीले संसारभर छरिएर रहेका गुरुङलाई एकताबद्ध गर्दै जातीको हकहितका लागि काम गर्दै आएको बताउनुभयो ।
उहाँले संगठनकै पहलमा उपचारको अभावमा रहेकाहरुको लागि आर्थिक सहयोग अभियान संचालन गर्नेदेखि लिएर गरिब जेहेन्दार विद्यार्थीहरुका लागि आर्थिक सहयोगको समेत व्यवस्था गरिदैँ बताउनुभयो। उहाँले इच्छाकामनामा मृगौला पीडितको उपचारका लागि समेत संगठनकै पहलमा आर्थिक जुटाएको उदाहरण दिदैँ दुख परेका बेला संगठनको साथ रहने बताउनुभयो ।अध्यक्ष गुरुङले आफ्नो जातीको हकहितका लागि राज्यलाई झकझक्याउने काम यस तमू ह्यूल छोजधीँले गरिरहेको बताउनुभयो ।

तमू ह्यूल छोजधीँका केन्द्रिय सचिव सन्तलाल गुरुङले तमूहरुको एकताका लागि गाउँगाउँमा संगठन विस्तार गर्न आग्रह गर्नुभयो । साथै उहाँले सबैको लक्ष्य आफ्नो जातीको हकहितका लागि भएकाले समिति चयनमा कसैले पनि राजनिति गर्ननुहनेमा जोड दिनुभयो । इच्छाकामनामा जनसंख्याको हिसाबले दोश्रो स्थानमा रहेको र पालिकादेखि लिएर धेरै जसो राजनिति पार्टी संघसस्थामा गुरुङहरुको नेतृत्व हुदाँ पनि एउटा पनि भवन निर्माण गर्न नसक्नु कमजोरी देखिएको बताउनुभयो ।
कार्यक्रममा तमू ह्यूल छोजधी जिल्ला उपाध्यक्ष विमला गुरुङ, तमूस्यो ह्यूल छोजधीका जिल्ला अध्यक्ष सकुन्तला गुरुङ, केन्द्रिय सल्लाहकार सारदा गुरुङ, तमु सञ्चारकर्मी संघका केन्द्रिय सचिव चित्र बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
ह्यूल छोँजधी इच्छाकामनाका अध्यक्ष राम बहादुर गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहको सचिव बिन्दु गुरुङले सञ्चालन गर्नुभएको थियो ।
अहिले बन्द सत्र चलिरहेको छ । नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुनेछ ।