फिस्लिङ । चितवनको इच्छाकामना वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपाल सामाजिक सुरक्षा भत्ता बोकेर गाउँमै पुगेका छन्। चुनावी अभियानका क्रममा गाउँमै भत्ता बोकेर वितरण गर्न आउछु भन्ने वाचा गरेका नेपालले सोही वाचा पूरा गर्दै भत्ता बोकेर गाउँमै पुगेका हुन्। बुधबार तोक्दाङ, माझ गाउँ, धोद्रेवास, सिस्नेरी चौतारी नागदहमा भत्ता वितरण गरिएको हो ।
चुनावी वाचा अनुसार टोलटोलमै पुगेर सामाजिक भत्ता वितरण गरिएको वडाध्यक्ष नर बहादुर नेपालले बताए। वृद्ववृद्वाहरुलाई बैँक सम्म जान कठिनाई हुने र बैँकमा पुगेर घण्टौँ सम्म लाइन बस्नु पर्ने भएकाले बैँकसंग समन्वय गरेर टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उनको भनाई छ ।
सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकिङ प्रणाली मार्फत वितरण गर्नुपर्ने नियम लगाएपछि धेरै जसो बैंकमा भत्ता बुझ्ने बेला ज्येष्ठ नागरिकहरुको लामो लाईन लाग्ने गरेको थियो भने नागरिकहरुले घण्टौसम्म लाईन बस्नुपर्दा निकै कष्ट व्यहोर्नु परेको थियो ।
वडाध्यक्ष नेपालसहित गाउँपालिका उपाध्यक्ष माया सिलवाल, कर्मचारीहरु पुगेर वडा नम्बर ३ को टोलटोलमै भत्ता वितरण गरेका थिए । उपाध्यक्ष माया सिलवालले बृद्धबृद्धाहरुको सहजताका लागि गाउँपालिकाले टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए ।
गाउँमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि लाभग्राहीहरु खुशी भएका छन् ।
वृद्ध भत्ता बुझेपछि वडा नम्बर ३ का रत्न बहादुर गुरुङले खुशी हुदैँ जनप्रतिनिधिहरुलाई धन्यवाद दिए। इच्छाकामना गाउँपालिकामा ग्लोबल आईएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक मार्फत गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।