कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले पनि टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले केहि दिन अघिबाट आर्थिक वर्ष २०७८।०७९ को अन्तिम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता टोलबाटै वितरण गर्न थालेको हो।
गाउँपालिकाले बुधबार मात्रै वडा नं. ३ को माझगाउँमा उपाध्यक्ष माया सिलवालको नेतृत्वमा वडाध्यक्ष नर बहादुर नेपाल लगायतको टोली पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। टोलमै सामाजिक सुरक्षा भत्ता बोकेर उपाध्यक्ष, वडाध्यक्षको टोली आएपछि स्थानीय ज्येष्ठ नागरिकहरुमा भने खुशी छाएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकिङ प्रणाली मार्फत वितरण गर्नुपर्ने नियम लगाएपछि धेरै जसो बैंकमा भत्ता बुभ्mने बेला ज्येष्ठ नागरिकहरुको लामो लाईन लाग्ने गरेको थियो भने नागरिकहरुले घण्टौसम्म लाईन बस्नुपर्दा निकै कष्ट व्यहोर्नु परेको थियो । स्थानीय सरकारमा नयाँ जनप्रतिनिधि आएपछि बैंकसँगको समन्वयमा टोलमै भत्ता वितरण गर्ने व्यवस्था मिलाएपछि ज्येष्ठ नागरिकहरुलाई सहज भएको छ ।
नागरिकहरुलाई सहजताका लागि नै आफुहरुले बैंकसँग समन्वय गरेर टोलमै भत्ता वितरण गर्ने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष दान बहाुदर गुरुङले बताए । उनले भने ‘हामीले चुनावकै दौरानमा पनि ज्येष्ठ नागरिकहरुको पिडालाई नजिकबाट महसुश गर्दै भत्ता बुभ्mन परेको कठिनाईको अन्त्य गर्छौ भन्ने वाचा गरेका थियौ, सोही अनुरुप हामीले वाचा पुरा गरेका छौं।’
इच्छाकामनामा ग्लोबल आईएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक लगायत मार्फत गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।