आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाका तात्कालिन जनप्रतिनिधीलाई नियम विपरित खाजा र पोषाक भत्ता दिएको देखिएको छ। आर्थिक वर्ष २०७७।०७८ मा गाउँपालिकाका तात्कालिन जनप्रतिनिधीलाई नियम विपरित खाजा र पोषाक भत्ता दिएको भन्दै महालेखा परीक्षकको कार्यालयको ५९ औं प्रतिवेदनले औल्याएको छ।
प्रतिवेदनमा गाउँसभा, नगरसभा र जिल्ला समन्वय समिति सदस्यले पाउने सुविधा सम्बन्धि ऐन, २०७६ को अनुसूचीमा पदाधिकारीलाई मासिक रुपमा पाउने सुविधाको व्यवस्था रहेको तथा दफा १४ मा पदाधिकारीले यस ऐनले निर्धारण गरेको बाहेक अन्य सुविधा नपाउने व्यवस्था गरेकोमा गाउँपालिकाले १४ जना पदाधिकारीहरुलाई पदाधिकारी खाजा भत्ता वापत मासिक ५ हजारको दरले १२ महिनाको ८ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको देखिएकोले गाउँपालिकालाई अतिरित्त भार पारेको उल्लेख गरेको छ ।
यस्तै गाउँपालिकाले नियम विपरित ३४ जना गाउँसभा सदस्यहरुलाई पोषाक भत्ता वापत १० हजारको दरले ३ लाख ४० हजार रुपैयाँ भुक्तानी दिएकोले कानुन बमोजिम तोकिएको सुविधा भन्दा बढि सुविधा भुक्तानी भएको सम्पूर्ण रकम असुल उपर गर्नुपर्ने प्रतिवेदनमा लेखेको छ ।
स्मरण रहोस् त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा पनि गाउँपालिकाले नियम विपरित गाउँसभा सदस्यहरुलाई पोषाक भत्ता वापत रकम भुक्तानी गरेको भन्दै असुल उपर गर्न महालेखाले निर्देशन दिएको थियो तर गाउँपालिकाले महालेखाको निर्देशन अटेर गर्दै जनप्रतिनिधिलाई पुनः पोषाक भत्ता दिएको देखिन्छ ।