रोशन तिवारी, पर्वत, २९ असार । पर्वतको फलेवास नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट नीति तथा कार्यक्रम पारित भएको छ । हिजो राती सम्पन्न एघारौँ नगरसभाले नगरप्रमुख गङ्गाधर तिवारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख शोभाकुमारी क्षेत्रीले पेश गरेको आगामी आर्थिक वर्षको बजेट नगरसभाले पारित गरेको हो ।
फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षमा चालु तथा पूँजीगत तर्फ एकमुष्ठ एक अर्ब पाँच करोड ५८ लाख एक हजार रुपैयाँ रहेको छ । फलेवासमा चालु तर्फ ४३ करोड आठ लाख आठ हजार, सामाजिक सुरक्षा तर्फ १५ करोड, पुजिँगत तर्फ ४७ करोड ४९ लाख ९३ हजार बजेट विनियोजन भएको छ ।
आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, विपद व्यवस्थापन शिर्षकमा विषयगत समितिमा दफावार छलफलपछि प्रस्तुत भएको बजेटमा नगरसभा सदस्यहरूले बहुमतसहित पारित गरेको बजेट नीति तथा कार्यक्रम नगरसभाबाट पारित गरेका हुन् ।
साथै न्यायिक समिति गठन सम्बन्धि प्रस्ताव, लेखा समिति गठन सम्बन्धि प्रस्ताव, विधायन समिति गठन सम्बन्धि प्रस्ताव, आर्थिक विधेयक, २०७९, विनियोजन विधेयक, २०७९, साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन विधेयक, २०७९ पनि सभाबाट पारित भएका छन् ।