काठमाण्डौ, २४ असार । बजेट निर्माणमा अनधिकृत मानिसलाई बोलाएर करका दर हेरफेर गरेको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिको पहिलो बैठक आउँदो मंगलबार बस्ने भएको छ । संसद सचिवालयका अनुसार आज सभामुख अग्निप्रसाद सापकोटाको सहजीकरणमा समितिमा रहेका सदस्यहरूबीच बैठक भएको थियो ।
बैठकमा सभामुख सापकोटाले समितिको सचिव सुरेन्द्र अर्याललाई बनाउने निर्णयबारे जानकारी गराउनुभएको थियो । शर्मामाथि छानबिन गर्न अस्ति बुधबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय समिति बनाएको थियो ।
समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य रहेका छन् । नेपाली काँग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहेका छन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीको तर्फबाट सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा रहेका छन् । समितिलाई काम सुरु गरेको दश दिन भित्र काम सम्पन्न गर्ने कार्यादेश रहेको छ । छानबिन समिति बनेकै दिन संसदमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।