सुसिला श्रेष्ठ, काठमााडौँ, २३ असार । राष्ट्रिय योजना आयोगले गरेको आर्थिक सर्वेक्षणको पछिल्लो तथ्याङ्क अनुसार झण्डै ५ प्रतिशत जनसङ्ख्या कृषि पेशाबाट विस्थापित भएका छन् ।
यसो हुनुको पछाडी किसानले आफ्नो उत्पादन लागत अनुसारको उचित मुल्य पाउन नसक्नु पनि कारण रहेको बताइएको छ । बजारको अभावसँगै बिचौलियाको कारण उपभोक्ता र किसान दुवै मारमा परिरहेका छन् ।
३० कठ्ठा जमिनमा धान र मकै खेति गर्नु भएका भिमदत्त नगरपालिका कन्चनपुरका अनिता पौडेलले बजारमा धानको प्रति क्विन्टल मूल्य ४ देखि ५ हजारसम्म खरिद विक्री हुने भए पनि ३ हजार रूपैयाँ मात्रै आफुले पाउने बताउनुभयो ।
तरकारी, फलफूल तथा अन्य खाद्य बाली उत्पादन गर्ने हरेक किसानले यो समस्या झेलिरहेका छन् । किसानले पनि उचित मूल्य नपाउने तर उपभोक्तले महङ्गो तिनुपर्ने समस्याको अन्त्य गर्न स्थानीय सरकारले भूमिका खेल्नुपर्नेमा विज्ञहरूको जोड छ ।
कृषि बजार विज्ञ चित्रनाथ पौडेलले लागत अनुसारको मूल्य नपाएपछि किसानहरू पलायन हुँदै गइरहेकाले बेच्ने र किन्नेहरूको लागि अलग्गै बजारको व्यवस्थापन गरिदिनमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो ।