काठमाण्डौ, २२ असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । प्रज्ञा भवन कमलादीमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकले पदाधिकारीको टुङ्गो लगाउने नेताहरुले बताएका छन् । गत आइतबारदेखि सुरु बैठकमा पदाधिकारी टुङ्गो लगाउन दबाब बढेपछि हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक नै स्थगित गरेर पदाधिकारीको बारेमा छलफल गर्नुभएको बुझिएको छ ।
नेता दिनानाथ शर्माका अनुसार अध्यक्ष प्रचण्डले आजको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूको नाम प्रस्ताव गर्नुहुनेछ । प्रचण्डले प्रस्ताव गरेको नाम नै सर्वसम्मत पारित हुने उहाँले दाबी पनि गर्नुभयो । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरेपनि अध्यक्ष बाहेकका अन्य पदाधिकारी भने चयन हुन सकेको छैन ।