आँबुखैरेनी, १९ असार । आँबुखैरेनी गाँउपालिकाको सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी जडानको थालनी गरेको छ। सामुदायिक विद्यालयमा कतिपय शिक्षकले नियमित विद्यालयमा नपढाउँने र विभिन्न राजनीतिक दल निकटका संगठनमा रहेर दलको कार्यक्रममा सहभागी हुने तर विद्यालयमा पढाउन नजाने गुनासो आउन थालेपछि शिक्षकमाथि नियमन गर्न तथा निगरानी बढाउन पालिकाका सबै विद्यालयमा विद्युती हाजिर जडान गर्न लागिएको हो।
नियमित विद्यालय नगई शिक्षकले धेरै दिनको हाजिरी गर्ने, शिक्षकलाई विद्यालयप्रति उत्तरदायी र सहज निगरानीका लागि आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका सबै विद्यालयमा विद्युतीय हाजिरी जडानको थालनी गरेको हो। अहिले १५ वटा विद्यालयमा हाजिर जडान सम्पन्न भएको पालिकाले जनाएको छ।
‘सामुदायिक विद्यालयको शैक्षिक प्रशासनलाई सुदृढ गराउन विद्युतीय हाजिरी सुरुवात गरेका हौ’ आबुखैरेनी गाँउपालिकाका अध्यक्ष शुक्र चुमानले भने– ‘अहिले पालिकाका ३५ वटै विद्यालयमा विद्युतीय हाजिरीको सुरुवात गर्ने तयारी गरिरहेका छौ ।’ सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न गाउँपालिकाले अभियान चलाउन लागेको चुमानले बताए।
चुमानले भने ‘एक हप्ता भित्र सबै विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान सम्पन्न हुन्छ ।’ एप मार्फत पालिकाबाटै निगरानी गर्न मिल्ने ढङबाट काम भएको उनले बताए । गाउँका विद्यार्थी समेत निजी विद्यालय केन्द्रित भइरहेको अवस्थामा सामुदायिक विद्यालय सुधार नगरी नहुने अवस्था रहेको उनी बताउँछन् ।
‘शैक्षिक संस्थालाई पनि स्थानीय तहले नै हेर्ने अधिकार भएपछि सामुदायिक विद्यालयको स्तर खस्कनुमा हामी पनि दोषी ठहछौं’ अध्यक्ष चुमानले भने– ‘विद्युतीय हाजिरीले शिक्षकलाई उत्तरदायी र विद्यालयप्रति जिम्मेवारीवोध गराउँछ भने गाउँपालिकालाई निगरानी गर्न सहज हुनेछ।’
असारसम्म पालिकाका सबै विद्यालयमा विद्युतीय हाजिरी जडान सम्पन्न हुने पालिकाको शिक्षा शाखाले जनाएको छ । विद्युतीय हाजिरी सुरुवात भएका विद्यालयका प्रत्येक महिना गाउँपालिकालाई रिपोर्ट आउने चुमानले बताए। ‘कुन शिक्षक कुन दिन विद्यालय गएनन् भन्ने रिपोर्ट गाउँपालिकामा आउँछ,' उनले भने- 'हाजिरी गरेर पनि नपढाउने शिक्षकमाथि समेत हामीले निगरानी बढाउँछौं।’
नेपालको संविधान २०७२ ले मावि शिक्षा सम्बन्धी सम्पूर्ण जिम्मेवारी स्थानीय तहमा दिएको छ। शिक्षक ढिलो विद्यालय जाने र छिटो बाहिरिने गनासो समेत गाउँपालिकामा आउने गरेको थियो। स्थानीय सरकारले विद्यालय प्रशासन सुधार्न शैक्षिक गुणस्तरमा अभिवृद्धि तथा प्रविधिमैत्री शैक्षिक संस्था निर्माणको लागि आफुले काम सुरु गररेको चुमान बताउछन्।
पालिकाले विद्युत सुविधा नभएका दुई विद्यालयमा समेत वैकल्पीक ब्यवस्था गरेर विद्युतीय हाजिर जडान गर्ने तयारी गरिएको पालिकाले जनाएको छ ।
आँबुखैरेनीको ३५ वटा सामुदायिक विद्यालयमा करिब ४२ सय विद्यार्थी अध्ययनरत छन्।