कुरिनटार, १८ असार । स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेद्वार भै निर्वाचित हुन सफल भएको जनप्रतिनिधिहरुलाई नेकपा एमाले इच्छाकामनाले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । आज कुरिनटारमा रहेको गाउँकमिटिको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको हो।

यहि वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा इच्छाकामनामा नेकपा एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित २, ४, ५ र ६ वडामा पूरै प्यानल साथै वडा नं. १ मा ४ जना सदस्य र वडा नं. ३ मा १ वडाध्यक्ष, १ सदस्यमा जित हासिल गरेको थियो। जस अनुसार गाउँपालिकाको ३९ सदस्यीय गाउँसभामा ३० सदस्य र ९ सदस्यीय कार्यपालिकामा ७ गरी दुवै सभामा एमालेको दुई तिहाई सदस्य छ।

पार्टीको बागमती प्रदेश कमिटि सदस्य समेत रहेका जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको सो कार्यक्रममा नेकपा एमाले इच्छाकामना गाउँकमिटिका अध्यक्ष कृष्णप्रसाद सिलवालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश कमिटि सदस्य प्रकाश अधिकारीका साथै एमालेका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो।