काठमाण्डौ, १८ असार । सरकारले इन्धनको मूल्य घटाए पनि व्यापारीले खाद्यान्नका सामग्रिको भाउ घटाएको छैन । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सवारी भाडा घटाए पनि खाद्यान्नको भाउ जस्ताको तस्तै देखिएको छ ।
आयल निगमले असार ५ मा डिजेलको मूल्य प्रतिलिटर २७ रुपैयाँ बढाएलगत्तै खाद्य ढुवानीको मूल्य प्रतिकिलो ३ रुपैयाँ बढेको थियो । नेपालगन्जबाट काठमाडौंसम्मको ढुवानी भाडा प्रतिकिलो ३ देखि साढे ३ रुपैयाँ बढेको थियो तर मूल्य घट्दा समायोजन भएको छैन ।
खुद्रा व्यापार सङ्घका महासचिव अमुलकाजी तुलाधरले इन्धनको मूल्य बढ्दा खाद्य वस्तुको मूल्य तत्काल बढाएका ठूला व्यापारीले घट्दा समायोजन नगरेको बताउनुभयो । ठूला व्यापारीले भाउ नघटाउँदा खाद्यान्न सामग्रीको बजार भाउ नघटेको खुद्रा व्यापारीहरू बताउँछन् ।