निशु जोशी, नेपालगन्ज, १४ असार । नेपालभारत सिमासँग जोडिएको बाँकेको जयसपुर तरकारीमा आत्मनिर्भर बन्न थालेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १६ स्थित जयसपुरका किसानहरूले उत्पादन गरेको तरकारी नेपालगन्ज, कोहलपुरसहित कर्णाली प्रदेशका सुर्खेत, जुम्ला, हुम्ला लगायतका जिल्लामा निर्यात हुँदै आएको छ । सरकारले स्मार्ट कृषि गाँउ घोषणा गरेपछि तरकारी उत्पादनमा थप सहयोग मिलेको किसानहरू बताउँछन् ।
यस वर्ष आठ सय क्वीन्टल बन्दागोबीसहित तरकारी बिक्रीबाट आठ लाख कमाउनुभएका किसान मुनीर अहमद राईले पाँच वर्षयता १७विघा जमिन भाडामा लिएर तरकारी खेति गरिरहेको बताउनुभयो । जयसपुरको जनसङ्ख्या करिवदस हजार छ । यहाँका एक हजारभन्दा बढीले व्यवसायिक तरकारी खेति गर्दै आएका छन् ।
प्रदेश सरकारले घोषणा गरेको जयसपुर स्मार्ट कृषि गाँउ कार्यान्वयन समितिमा ५० जना सदस्य छन् । तर अधिकांशसँग प्रर्याप्त जमिन नहुँदा एक विघाको ७ हजार रुपैयाँका दरले जग्गा भाडामा लिएर बन्दागोबी, गोलभेडा, भन्टा, खुर्सानी लगायतका तरकारी उत्पादन गर्दै आएका छन् ।
यसवर्ष जयसपुरबाट एक सय १० मेट्रिकटन तरकारी निर्यात गरिएको छ । विगत १ वर्षदेखि केयर नेपाल र घरेलु तथा साना उद्योग महासंघ बाँकेको सहकार्यमा निर्माण गरिएको कृषिपथ एपमार्फत बारीबाटै बेच्न थालिएको स्मार्ट कृषि गाँउ कार्यान्वयन समितिका सचिव अस्लाम राईले बताउनुभयो । कतिपय किसानका अनुसार जयसपुरमा सिँचाईको समस्या छ ।
लुम्बिनी प्रदेशसभा सदस्य वावुराम गौतमले समस्या समाधानका लागि प्रदेश सरकारसँग पहल भईरहेको बताउनुभयो । तरकारी खेतीबाट आएको आम्दानीले परिवार पाल्न, घरखर्च चलाउन, बचत गर्न सहज भएको किसानहरूले बताएका छन् । तर समयमा मल, बीउसँगै ढुवानी गाडी र शित भण्डार निर्माण गर्न सके तरकारीले थप मूल्य पाउने उनीहरूको भनाई छ ।