गोरखा, ८ असार । गण्डकी गाउँपलिकाले १० गते निति तथा कार्यक्रमसंगै त्यही दिन बजेट समेत ल्याउने तयारी गरेको छ । पालिका आगामी आर्थिक वर्ष २०७९/८० का लागि योजना तथा बजेट निर्माणमा व्यस्त छ । नवनिर्वाचित अध्यक्षसहित अन्य जनप्रतिनिधि नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि योजनातर्जुमा लागीपरेका छन् ।
पाँच वर्षमा स्थानीय तहको मुहार फेरिने गरि योजना निर्माण गरिएको पालिकाका अध्यक्ष दिपक तिमिल्सिना (साकारं)ले बताउनुभयो । विकासमा जनताले देख्ने र प्रभावकारी हुने खालका योजना ल्याउन वडाध्यक्षलाई आग्रह गरिएको समेत उहाँले बताउनुभयो ।
सबै वडाको समग्रमा विकास भएमात्रै पालिकाको विकास देखिने हो, हाम्रो कार्यकालको सुरुआती वर्ष भएकाले दीर्घकालीन रणनीतिक योजनाको खाका बनाउन लागेका छौँ, उहाँले भन्नुभयो । उहाँले एउटा वडामा एउटा गौरवको योजना छनोट गरि अघि बढ्ने योजना रहेको समेत जानकारी दिनुभयो ।
‘हामी हरेक वडामा एउटा गौरव गर्न लायकको योजना निर्माण गर्ने तयारीमा छौं, त्यसको लागी पालिकाबाट आवस्यक बजेट बिनियोजन हुन्छ, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।’
हरेक वडालाई १ करोड बजेट बिनियोजन हुने त्यसमा ५० लाखको एउटा गौरवको योजना छनौट गर्नुपर्ने उहाँले बताउनुभयो ।
गण्डकी गाउँपालिकाले पालिकाको निति तथा कार्यक्रमको लागि यस अघिनै सार्वजनिक रुपमा सुझाव माग गरिसकेको छ । त्यसको लागी पालिकाले सर्वदलीय छलफल समेत सम्पन्न गरेको अध्यक्ष सारकारले जानकारी दिनुभयो ।