Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अर्थ–वाणिज्य

नवलपुरको धौवादी फलाम खानीको उत्खनन कार्य अगाडि बढ्यो, १५ करोड टन कच्चा फलाम उत्पादन हुने

नवलपुरको धौवादी फलाम खानीको उत्खनन कार्य अगाडि बढ्यो, १५ करोड टन कच्चा फलाम उत्पादन हुने

images

इच्छाकामना न्युज

५, आषाढ २०७९
नवलपुरको धौवादी फलाम खानीको उत्खनन कार्य अगाडि बढ्यो, १५ करोड टन कच्चा फलाम उत्पादन हुने
images

नवलपुर, ३ असार । धौवादी फलाम खानीको उत्खनन कार्य अगाडि बढाइएको छ । २०७६ साल असोजमा फलाम निकाल्न गठन भएको धौवादी कम्पनीले फलाम उत्खननका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको जनाएको छ । कम्पनीका निर्देशक शैलेश थापाले उत्खननको कार्य तीव्ररुपमा अगाडि बढेको बताए । उनका अनुसार कम्पनीले विभिन्न परीक्षणसहित कार्य अगाडि बढाएको छ । उक्त क्षेत्रमा १५ करोड टन फलाम उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ ।

गण्डकी प्रदेशको नवलपरासीको सुस्तापूर्वीको कावासोतीदेखि २० किलोमिटर उत्तरमा हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ को धौवादी डाँडामा खानी भेटिएपछि धौवादी–पोखरी र दुर्लुंगा क्षेत्रमा अध्ययन अनुसन्धान कार्य गर्दै आएका छन् ।

पूर्वपश्चिम राजमार्गको डण्डा बजारबाट २५ किलोमिटर उत्तरमा रहेको क्षेत्रमा सरकारले धौवादीको १० किलोमिटर लामो फलाम खानी भेटिएको अध्ययनले देखाएको छ । सोही अध्ययनअनुसार सरकारले स्वदेशमै फलाम उत्पादन गर्ने भन्दै उत्खनन शुरु गरेको हो । धौवादी फलाम कम्पनीले हालसम्ममा फलाम खानीसम्म पुग्नका लागि सडकको २५ प्रतिशत भौतिक कार्य सम्पन्न गरिसकेको छ भने विद्युतको पनि व्यवस्था गरिसकेको कम्पनीको भनाइ छ ।

भूगर्भ खानी विभागले गरेको अध्ययनबाट १० करोड मेट्रिक टन कच्चा फलामको भण्डार रहेको अनुमान गरेको थियो । तर, कम्पनीले भूगर्भविदको संलग्नतामा गरेको अध्ययनले उक्त खानीमा करिब १५ करोड मेट्रिक टनभन्दा बढी कच्चा फलामको भण्डार रहेको देखाएको उनको भनाइ छ ।

‘शुरुमा खानी विभागबाट अध्ययन गरेको थियो । पछि कम्पनीले पनि भूगर्भ अध्ययन गरेको छ,’ उनले भने, ‘सो अध्ययनबाट थप खानी भेटिएको छ । कम्पनीले १५ करोड मेट्रिक टन फलाम उत्पादन हुन सक्ने अध्ययन देखाएको छ ।’ धौवादी फलाम खानीमा विभिन्न क्षेत्रबाट प्राविधिक विश्लेषण, पाइलट परिक्षण गरिसकेका छन् । कम्पनीले पाइलट टेस्टका लागि चीनको छेन्दुस्थित सिचूआन इन्स्टिच्यूट अफ मेटालोजिकल जियोलोजी एन्ड एक्स्प्लोरेसन पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो । सो परीक्षणबाट धौवादीमा फलाम उत्पादन गर्न सक्ने भएको छ ।

‘चीनमा लागि पठाइएको परीक्षणबाट पिग (क्रुड) आइरन फलाम उत्पादन गर्न सक्ने जनाएको छ । सो परीक्षणबाट प्राविधिक रुपमा फलाम निकाल्न सक्ने अवस्थामा पुगिसकेको छ,’ उनले भने । कम्पनीले प्रदान गरेको रिपोर्ट र अध्ययन गरेको रिपोर्टको पूर्णप्रतिवेदन तयार गर्ने कार्य अगाडि बढाएको उनले बताए । प्रतिवेदन तयार गरिसकेपछि कुन मोडलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा फिजिबिलिटी अध्ययन गर्ने उनको भनाइ छ ।

धौवादी खानीबाट फालम निकाल्न सक्ने सम्भाव्यता अध्ययनका लागि विभिन्न अन्र्राष्ट्रिय परामर्शदाता आह्वान गरेका थिए । आह्वान गर्दा ६ वटा देशका परामर्शदाताले आवेदन दिएका थिए । तर, ६ वटा मध्ये आर्थिक र प्राविधिक प्रस्ताव आह्वान गर्दा बेलायत, चीन, भारत, अष्ट्रिया र क्यानाडाले मात्रै प्रस्ताव पेश गरेको उनको भनाइ छ । ‘५ वटा परामर्शदाताले प्रस्ताव पेश गरेको छ,’ उनले भने, ‘प्रस्ताव पेश गरेका ५ वटा परामर्शदाताको मूल्याङ्कन कार्य भइरहेको छ ।’

उनकाअनुसार प्राविधिक परामर्शदाता छनौट भइसकेपछि आर्थिक प्रस्तावका लागि १५ दिनको समय दिएर प्रतिनिधि राखेर आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको उनले बताए । त्यसमध्ये उपयुक्त कम्पनी कुन हुन्छ, सोहीअनुसार कम्पनीले सम्भाव्यताको काम अगाडि बढाउनेछ ।

सम्भाव्यता अध्ययन प्रतिवेदनबाट कम्पनीले डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) र फिजिबिलिटी अध्ययनका गर्नेछ । साथै, डिपिआरसँगै इआइए, आइइलगायत सम्पूर्ण कार्यअगाडि बढाई प्रतिवेदनअनुसार उत्खननका कार्य अगाडि बढाउने उनको भनाइ छ । ‘प्राविधिक र आर्थिक रुपमा काम गर्न सक्ने अवस्थामा पुगिसकेपछि डीपीआर तयार गर्नेछ,’ उनले भने, ‘त्यसपछि इएआइए, आइइ गर्नुपर्ने हुन्छ । माइल स्किलहरू बनाउनुपर्ने हुन्छ ।’ कम्पनीले खानीसम्म बिजुली उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणको आयोजनासँग छलफल गरी धौवादी विद्युत प्रसारण आयोजना समेत गठन गरेको छ ।

आयोजना गठनबाट २२० केभिए प्रसारणलाइनबाट विद्युतको कामअघि बढेको जनाएको छ । साथै, कम्पनीले विभिन्न प्रक्रिया पूरा गरेपछि व्यवसायिक उत्पादनका लागि कार्य अगाडि बढाउने तयारी गर्ने जनाएको छ ।

त्यस्तै, धौवादी फलाम खानी सञ्चालनका गण्डकी प्रदेशले १५ करोड बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले आर्थिक वर्ष २०७९/८० को बजेटमा खानी तथा खनिजजन्य पदार्थको पहिचान गरी खानीजन्य उद्योगको सम्भाव्यता अध्ययन गर्ने व्यवस्था मिलाएको बताए । प्रदेशका अर्थमन्त्री बरालले नेपाल सरकारसँगको साझेदारीमा धौवादी फलाम खानी सञ्चालनका लागि बजेट विनियोजन गरेको गरेको बताएका छन् ।

 

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - २१:२०:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology