दीपक खत्री, सिन्धुपाल्चोक, ४ असार । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार नेपालमा उत्पादित कुल कफीमध्ये झण्डै ६० प्रतिशत निर्यात हुने गरेको छ । नेपालमा पनि कफीको माग बढिरहेकाले यसको खेतिमा किसानहरुको आकर्षण राम्रो देखिन्छ । ९ वर्षदेखि सिन्धुपाल्चोकको अर्गानिक प्रमाणित कफी जापान, अष्ट्रेलिया र कोरियामा लगायतका देशमा निर्यात भइरहेको छ । किसानले पनि कफी खेतिबाट वार्षिक तीन देखि पाँच लाखसम्म आम्दानी लिईरहेका छन् ।
गतवर्ष ताजा चेरीको प्रति किलो ९० रुपैयाँ पाएका सिन्धुपाल्चोकका किसानले यो वर्ष ९५ रुपैँया पाएका छन् । यसपाली जिल्लामा २५ हजार किलो कफी उत्पादन भएको र कफी निर्यातबाट एक करोड भन्दा बढि भित्रिएको जिल्ला कफी सहकारी सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष मन्दु थापाले बताउनुभयो । सिन्धुपाल्चोकमा २१ सय ५० किसान व्यवसायिक कफी खेतीमा आबद्ध छन् । जिल्लामा झण्डै २० वर्ष अघिबाट व्यवसायिक कफी खेति सुरु भएको हो ।
पछिल्लो १० वर्ष यता जिल्ला कफी सहकारी सङ्घले उत्पालित कफीको बजारीकरण गर्दै आएको छ । सङ्घका अनुसार जिल्लाभर १ सय २४ हेक्टर क्षेत्रफलमा व्यवसायिक कफीखेती हुँदै आएको छ। हाल बजारको कुनै समस्या नरहेको एकजनाढकप्रसाद प्याकुरेलले बताउनुभयो ।
कफी खेतीमा किसानको आकर्षण तथा हावापानी र वातावरण उपयुक्त देखिएपछि कृषि ज्ञान केन्द्र काभ्रेले हरेक साल प्राविधिक र आर्थिक सहयोग गर्दै आएको छ । विदेशी मुद्रा आर्जनको गतिलो स्रोत बन्दै गएको नगदेबाली कफीमा देखिने सेतो गबारो र सिन्दुरे रोगले किसानलाई बेला बेलामा सताउने गरेको छ । तर, बाँदर र जङ्गली जनावरका कारण बाँझो बनेका जमिनमा कफी खेति हुन थालेपछि किसान खुशी छन् ।