तनहुँ, १७ जेठ । फुटबलको क्षेत्रमा २५ वर्ष भन्दा बढी एन्फा तनहुँ हाँकेका युवा एवं जुझारु व्यक्तित्व तनहुँ आँबुखैरेनीका रत्नकुमार श्रेष्ठद्वारा अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा लड्ने घोषणा गरेका छन् । फुटबलमा लामो समय बिताएका श्रेष्ठ एन्फाको केन्द्रिय उपाध्यक्षमा लड्ने घोषणा गरेका हुन् । उनी कर्मा छिरिङ शेर्पाको समूहबाट उपाध्यक्षमा लड्न लागेका हुन् ।
्
सामाजिक सञ्जालमा उनले उपाध्यक्षमा उम्मेदवारी दिने भन्दै प्रचारप्रसार सुरु गरिसकेका छन् । अखिल नेपाल फुटबल संघको यही असार ६ गते काठमाडौंमा हुने महाधिवेशनमा आफुले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको श्रेष्ठले बताए । उनले आफु लगायतको टिमलाई विजयी गराउन मतदाताहरुसँग आग्रह समेत गरेका छन् ।
नेपाली फुटबलको बृहत्तर विकासका लागि बनेको कर्मा छिरिङ शेर्पाको टिमबाट आफु उपाध्यक्षमा लड्न लागेको जानकारी गराउदै सम्पूर्ण टिमलाई विजयी गराइ दिन श्रेष्ठले सामाजिक सञ्जाल, फेसबुक, ट्इटर, म्यासेन्जर एसएमएस, युटुब मार्फत प्रचारलाई तिब्र बनाएका छन् । हाल केन्द्रिय सदस्यका रुपमा रहेका श्रेष्ठले केही महिना अघि भएको अधिवेशनमा तनहुँको अध्यक्षबाट २५ वर्षको यात्रालाई विश्राम लिएका थिए ।
उनले ७७ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधिका रुपमा छनोट भएका एन्फाका पदाधिकारी र मतदाताहरुसँग मत माग्ने क्रमलाई तिब्रता दिएका छन् ।