कुरिनटार, १५ जेठ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङले नवनिर्वाचित जनप्रतिनिधिलाई अबिर र खादाले सम्मान गर्ने भन्दा पनि काम लगाएर काम गर्न दिनुपर्ने बताए । सिद्धार्थ होटल चुम्लिङ्गटारमा आज प्याब्सन इच्छाकामनाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोन्धन गर्दै उनले यस्तो बताएको हो।
उनले औपचारीक कार्यक्रम आयोजना गरि बधाई दिनु भन्दा पनि सामान्य भेटघाट गरेर बधाई शुभकामना दिनुका साथै आगामी दिनमा जनप्रतिनिधिले के–कसरी काम गर्नुपर्छ भनेर सुझाव सल्लाहहरु दिन उपयुक्त हुने बताए । ‘हामीलाई तपाईहरुले काम गर्नका लागि जिताएको हो, यसैले काम दिनुस् हामीले के गर्नुपर्छ भन्नुस् गर्छौ’ –उनले भने ‘हामीले थुप्रै कामहरु गर्नुछ यसैले हामीले काम गरिसकेपछि बल्ल तपाईहरुले सम्मान गर्नुहोला ।’
यस्तै कार्यक्रमलाई सम्बोन्धन गर्ने क्रममा उनले निजी विद्यालयसँग स्थानीय सरकार सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। ‘हिजोका दिनमा के भए, के भएन भन्ने तिर हामी लाग्दैनौ अबका दिनमा हामी सहकार्य गर्छौ’ –उनले भने ‘यसका लागि सामुदायिक विद्यालयको शिक्षा गुणस्तर बढाउनका निम्ति निजि विद्यालयका संचालकहरुले समेत भूमिका खेल्न तयार हुनुपर्छ ।’ साथै नजिकको सरकारी विद्यालयमा पनि शिक्षाको गुणस्तर राम्रो हुन सके निजि विद्यालयलाई फाईदा पुग्न सक्ने उनले बताए।