कुरिनटार, १३ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको नवनिर्वाचित कार्यपालिका सदस्यहरुको पहिलो बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा कार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको हो।
पहिलो बैठकले गाउँपालिकाको बजेट निर्माण कार्यसहजिकरणका लागि स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ ले व्यवस्था गरे बमोजिम विभिन्न समितिहरु गठन गरेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए।
अध्यक्ष गुरुङका अनुसार अध्यक्ष दान बहादुर गुरुङको संयोजकत्वमा ७ सदस्यीय स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, उपाध्यक्ष माया सिलवालको संयोजकत्वमा ४ सदस्यीय बजेट तथा कार्यक्रम तर्जुमा समिति, ६ सदस्यीय स्थानीय राजश्व परामर्श समिति र ५ सदस्यीय अनुगमन तथा सुपरिवेक्षण समिति गठन गरिएको छ।
यस्तै विषय क्षेत्रगत जिम्मेवारी समेत तोकिएको छ । जसमा आर्थिक विकासमा वडा नं. ५ का वडाध्यक्ष तेज बहादुर शेरचन, सामाजिक विकासमा वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ, पूर्वाधार विकासमा वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, वन, वातावरण तथा विपद् व्यवस्थापनमा वडा नं. १ का वडाध्यक्ष सन्त बहादुर मगर र सुशासन तथा संस्थागत विकासमा वडा नं. २ का वडाध्यक्ष पञ्च बहादुर प्रजालाई तोकिएको छ ।
यसैगरी कार्यपालिका बैठकले गाउँपालिकाको विकास बजेट कटौती गरी नयाँ सवारी साधन खरिद गर्ने जस्ता कार्यहरु तत्काल रोकी पुरानै सवारी साधनलाई मर्मत गरी संचालन गर्ने निर्णय गरेको छ भने ज्येष्ठ नागरिकहरुलाई परिचयपत्र वितरण गर्न ज्येष्ठ नागरिक परिचय पत्र वितरण कार्यविधि २०७९ पनि स्वीकृत गरेको छ ।