भुवन रायमाझी, पाल्पा, ११ जेठ । पाल्पाको रिब्दीकोट ७ डबका गाउँका मानिसहरू व्यावसायीक कृषिमा आवद्ध भएका छन् । स्थानीय सरकारले पनि तरकारी पकेट क्षेत्रको रुपमा गाउँलाई सघाईरहेको छ ।गाउँका अधिकांश मानिस व्यावसायीक तरकारी खेतिमा लागेर राम्रो कमाईरहेका छन् ।
स्थानीय अर्जुन कुँवरले तरकारी खेतिबाट प्राप्त भएको आम्दानीबाट आफु सन्तुष्ट रहेको बताउनुभयो । स्थानीय सरकारले महिला लक्षित गरी तरकारी खेतिको तालिम, बिउ, मल र प्राविधिक सहयोग गरेको थियो ।
पाल्पाको सदरमुकाम तानसेनबाट २५ किलोमिटरको दुरीमा रहेको डबका गाउँ भौगलिक रुपमा समेत सहज छ । ६५ परिवारको बसोबास रहेको सो गाउँका सर्वसाधारणको पेशा कृषि हो । गाउँमा कृषि व्यवसायले राम्रो आम्दानी हुन थालेपछि विदेश गएका युवा समेत फर्किएका छन् ।
व्यावसायीक किसानलाई खेतबारीमै पुगेर प्राविधिक सल्लाह दिने गरेको कृषि प्राविधिक रमिता पोखरेलले बताउनुभयो । डबका गाउँका किसानले बेमौसमी खेती अन्तर्गत करेला, खुर्सानी, लौका, काँक्रा, काउली, बोडी, बन्दागोभी, भन्टा, अकबरे खुर्सानीलगायत खेती गरिरहेका छन् ।
उत्पादन भएको तरकारी गाउँबाटै बिक्री हुने गरेको छ । हरेक घरले कम्तिमा ५० हजारदेखि बढिमा ५ लाखसम्म कमाईरहेका छन् ।