नुवाकोट, ९ जेठ । स्थानीय तहको निर्वाचनमा चार जना पत्रकार निर्वाचित भएका छन् । गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा १२ स्थानीय तह रहेको नुवाकोटका विभिन्न स्थानीय तहमा पत्रकारिता क्षेत्रमा आवद्ध चार जना निर्वाचित भएका हुन् । सत्तारुढ काँग्रेस र माओवादीको गठबन्धनको तर्फबाट तारकेश्वर गाउँपालिका अध्यक्षमा पर्यटन पत्रकारितासँग आवद्ध शिव अधिकारी निर्वाचित हुनुभएको छ ।
जिल्लाको विदुर नगरपालिकाको उपप्रमुख पदमा सत्तारुढ माओवादी–काँग्रेस गठबन्धनको तर्फबाट पत्रकारिता पृष्ठभुमि भएका प्रभा बोगटी विजयी हुनुभएको छ । तादी गाउँपालिकाका ५ को महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रवाट नुवाकोटमा सक्रिय पत्रकार शर्मिला उप्रेती खनाल विजयी हुनुभएको छ भने बेलकोटगढी नगपालिका ७ को महिला सदस्य पदमा नेपाली काँग्रेसबाट पत्रकार गमला लामा विजयी हुनुभएको छ ।
नुवाकोटमा उम्मेदवारी दिएका दुई पत्रकारले भने पराजय व्यहोरेका छन् । तारकेश्वर गाउँपालिकाको १ को महिला वडा सदस्य पदमा उम्मेदवारी दिनुभएका सक्रिय पत्रकार रुपा अर्याल र तादी गाउँपालिका वडा नम्बर ४ को वडा सदस्य पदमा उम्मेदवारी दिनुभएका पत्रकार प्रितिका थापा पराजित हुनुभएको हो ।