काठमाडौं ,७ जेठ । ब्यूटी प्याजेन्टको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले पाण्डेलाई काठमाडौंबाट पक्राउ गरेको हो।
पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्।
भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले महाशाखा प्रमुख वसन्त कुँवरको अध्यक्षतामा पाँच सदस्यीय समितिसमेत बनाएको थियो।
एक युवतीले आठ वर्ष अघि सौन्दर्य प्रतियोगिताको क्रममा आफूलाई आयोजक संस्थाले बोलाएर बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटक मार्फत् सार्वजनिक गरेकी थिइन्।
त्यसको विरोधमा शुक्रबार ९हिजो० प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको थियो भने संघीय संसदमा सांसदहरुले पनि पीडित ती युवतीलाई न्याय दिन र दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका थिए।
मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।