कुरिनटार, १५ वैशाख । नेकपा एमालेबाट इच्छाकामना गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष उम्मेद्वार रुद्रप्रसाद उप्रेतीले आफुले वडाध्यक्ष जितेमा ५ वर्षसम्म पाउने सम्पूर्ण सेवा सुविधा दलित, चेपाङ र विपन्न परिवारको निःशुल्क उपचारको लागि स्वास्थ्य बिमामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार इच्छाकामना न्युजसँग कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन्।
उनका अनुसार जनप्रतिनिधिमा निर्वाचित हुने वित्तिकै स्वास्थ्य बिमाको लागि कोष स्थापना गर्ने र सो कोषमा आफुले पाउने सेवासुविधाको रकम जम्मा गरि सोही रकमबाट वडा नं. ४ का दलित, चेपाङ र विपन्न परिवारहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि बिमा गरिदिने बताए। साथै कोषमा वडा र गाउँपालिकाबाट पनि छुट्टै रकम थप गर्न लगाउने तथा अपुग भएमा आपैmले पनि व्यक्तिगत रुपमा थप रकमको जोहो गरिने उप्रेतीले बताए।
यस्तै उनले हिजो देखि नै व्यक्तिगत रुपमा स्थानीय वडाबासी तथा गाउँपालिकावासी नागरिकहरुको लागि व्यक्तिगत खर्चमै सामाजिक कामहरु गर्दै आएकोमा अब संस्थागत र आधिकारीक जनप्रतिनिधिको रुपमा अझ धेरै सामाजिक कामहरु गर्नको लागि आफुले वडा नं. ४ को वडाध्यक्षको रुपमा उम्मेद्वारी दिएकोले नागरिकलाई झन धेरै सेवा गर्ने अवसर दिन आग्रह गरे।
‘म नागरिकको शासक हैन सेवक भएर काम गर्न अत्यन्तै उत्साही छु’ –उनले भने ‘आफ्नो अमूल्य मत मलाई दिएर यो अवसर दिन हुन म सम्पूर्ण वडावासी दाजुभाई दिदिबहिनीहरुमा आग्रह गर्दछु’
यसैगरी उनले आफुले वडाध्यक्ष जितेमा सबैभन्दा पहिले सबै पक्षका बौद्धिक वर्गहरुलाई समेटेर कम्तीमा १० जनाको विज्ञ समूह निर्माण गरि सोहि समूहको छलफल सरसल्लाह लिदै वडा नं. ४ को वृहत्तर विकाशका लागि काम गर्ने पनि बताए।
साथमा वडा नं. ४ स्थित कुरिनटारको ढल व्यवस्थापन, व्यवस्थित बसोबास, ५ वर्ष भित्र ग्रामिण सडक कालोपत्रेको लागि पहल गर्ने सामुदायिक विद्यालयको शिक्षा गुणस्तर वृद्विमा पहल गर्ने, भ्रष्टाचार शुन्यमा झार्ने, वडाका हरेक क्रियाकलापलाई अधिकत्तम पारदर्शी गरेर काम गर्ने, युवाहरुको लागि आयमूलक रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।