पोखरा, १६ चैत । गुरुङ साहित्यिक मञ्च नेपालले यहि चैत २१ गते सोमबार विविध कार्यक्रमको आयोजना गरी पाँचौं स्थापना दिवस मनाउने भएको छ। गुरुङ साहित्यिक मञ्च नेपाल संसारभर छरिएर रहेका गुरुङहरुको एक मात्र साझा साहित्यिक संस्था हो । मञ्चले आफ्नो स्थापना दिवसको दिन पोखरामा पाँचौं स्थापना दिवस विभिन्न कार्यक्रमको स्थापना गरी मनाउने निर्णय गरेको हो ।
पोखराको होटल टास्क इन्टरनेश्नल, लेकाली चुल्हो घरमा औपचारिक कार्यक्रमको आयोजना गरि दिवसको दिन विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष गौरी तमुले बताए। उनका अनुसार चैत २१ गते सोमबार ३ चरणमा औपचारिक कार्यक्रम हुनेछ ।
बिहान ११ बजे ‘गुरुङ चलचित्रको मौलिक आधारहरु’ शीर्षकमा पहिलो चरणको अन्तरक्रिया कार्यक्रमको आयोजना हुनेछ । यस सेसनमा कलाकार माओत्से गुरुङ, गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का निवर्तमान अध्यक्ष भोजबहादुर गुरुङ र निर्माता तथा नायक बेदबहादुर गुरुङ (श्याम) रहनेछ । कोषाध्यक्ष जसु गुरुङले सहजीकरणको भूमिका निर्वाह गनेछ ।
दोस्रो चरणमा पत्रकार एवं गुरुङ साहित्य मञ्च नेपालका सदस्य आश गुरुङको सहजीकरणमा ‘गुरुङ साहित्य र पहिचान’ शीर्षकमा आख्यानकार तीर्थ गुरुङ, कवि चन्द्र गुरुङ र खेमा लिपिका अभियान्ता भीम गुरुङ रहनेछ । तेस्रो तथा अन्तिम चरणको मूल समारोह कार्यक्रम दिउँसो ३ बजे आयोजना गरिने गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी तमुले बताए ।
बैठकले यसबर्ष विभिन्न कार्यक्रमको आयोजना गरी गुरुङ साहित्यिक मञ्चको पाँचौं स्थापना दिवस मनाउने निर्णय गरेको हो । कार्यक्रमलाई सफल बनाउन स्वागत व्यवस्थापनको लागि कोषाध्यक्ष जसु गुरुङको संयोजकत्वमा सहकोषाध्यक्ष सम्राट गुरुङ सदस्य रहने गरी उपसमिति निर्माण गरिएको छ ।
औपचारिक कार्यक्रममा गरिने सहित्य र चलचित्रसम्बन्धी अन्तरक्रियाको लागि शीर्षक छनौट समितिको संयोजकमा उपाध्यक्ष रोशन गुरुङ, सदस्य अमृत गुरुङ र सुजन गुरुङ सदस्य रहेको छ ।
स्वागत सत्कारका लागि सचिव तुलबहादुर गुरुङको संयोजकत्वमा सदस्य तेजबहादुर गुरुङ रहने गरी उपसमिति निर्माण गरिएको गुरुङ साहित्यिक मञ्चका महासचिव रोशनी गुरुङले बताए । उनका अनुसार मूल समारोह समिति र उपसमितिले चैत २१ गते हुने संस्थाको पाँचौं स्थापना दिवसको सवैखाले तयारी गर्नेछ । मूल समारोहमा ‘गौरी तमू लेखनवृत्ति पुरस्कार’ बाट गुरुङ समुदायको प्रतिनिधित्व गरेर साहित्य लेखनमा सक्रिय एक स्रष्टालाई ३५ हजार ५ सय ५५ रुपैयाँ सहित पुरस्कार प्रदान गरिने भएको छ ।
गुरुङ साहित्यिक मञ्चको परिचय
लेखनको इतिहासमा साहित्य एक हो । साहित्यमा कलम चलाउनेहरुको संख्या नेपालको जनसंख्याको तुलनामा अन्त्यन्त न्यून रुपमा पाइन्छ । त्यसमा पनि नेपालको गुरुङ जातिमा हेर्ने हो भने त औलामा गन्न सकिन्छ ।
नेपालको गुरुङ जातिका व्यक्तिहरु साहित्यमा कलम चलाउनेहरु न्यून हुँदा हुदै पनि उनीहरुलाई एकता र संगठित गर्न सकिएको छैन । स्वदेश तथा विदेशमा बसेर भएता पनि गुरुङ र नेपाली साहित्यमा आफनो हैसियतले भ्याएसम्मको योग्दान पुर्याइरहेका छन् । उनीहरुले चलाइरहेको कमललाई अझ राम्रो तिखार्न सकेको खण्डमा गुरुङ तथा नेपाली साहित्य क्षेत्र अझ फष्टाएर जाने कुरामा कुनै दुई मत छैन ।
त्यसैले त्यस्ता कलम चलाइरहेकाहरुलाई अझ तिखार्न तथा गुरुङ र नेपाली साहित्यका विविध पक्षहरुलाई समेट्दै साहित्यलाई बढी प्राथमिकता दिई सहयोग उदेश्यबाट प्रेरित भई जाति, धर्म, बर्ण, लिङ्ग एवं राजनीतिबाट अलगै रहने गरी साहित्य क्षेत्रमा लागेका नेपालका गुरुङ साहित्यकारहरुलाई सक्रिय एवं संलग्न गराऊन एक गुरुङ साहित्यिक तथा सामाजिक संस्था गठन गर्न बान्छनिय देखिएकोले २०७३ साल चैत्र २१ गते सोमबारका दिन बसेको भेलाले गुरुङ साहित्यिक मञ्च नेपालको विधान २०७४ निर्माण गरिएको हो ।