स्नेहा कर्ण, काठमाडौँ, ४ चैत । पाँच वर्षको कार्यकालका लागि ७ सय ५३ स्थानीय तहमा निर्वाचित भएकामध्ये कतिपयले आफ्नो कार्यकाल विवादै विवादमा सक्ने अवस्था बनेको छ । कति पालिकामा प्रमुख उपप्रमुखबीच विवाद छ भन्नेतथ्याङ्क नभएपनि विवादका कारण बोलचाल बन्द हुने, एकले गरेको काममा अर्कोले मुद्दा हाल्ने र हात हालाहालसम्मको स्थिति यस अवधिमा देखिएको होे ।
कैलालीको लम्की चुहा नगरपालिका, रामेछापको लिखु तामाकोशी गाउँपालिका, पर्वतको फलेवास नगरपालिका, सर्लाहीको बलरा नगरपालिका, धनुषाको हङ्सपुर नगरपालिका, काठमाडौँ महानगरपालिका लगायत पालकाका प्रमुख र उपप्रमुखबीच विवाद देखिएको थियो ।
नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न निर्वाचित भएकाहरूले विवादमै कार्यकाल सकाएको हङ्सपुर नगरपालिकाका स्थानीयवासी मुकेश यादवले बताउनुभयो ।
एकजना सङ्घीयता विज्ञ कल्याण रोक्काले राजनीतिक अनुभव पर्याप्त नभएका जनप्रतिनिधि निर्वाचित हुनु, राजनीतिक दल एउटै नहुनु, महिलालाई प्रमुख, उपप्रमुखको जिम्मेवारीमा नस्वीकार्नु नै विवादका प्रमुख कारण रहेको बताउनुभयो ।