चितवन, ३ चैत । नेवाः पत्रकार राष्ट्रिय दबू जिल्ला कार्यसमिति चितवनले कार्यालय उद्घाटन गरेको छ। फागुपूर्णिमाको अवसर पारेर दबूले आज एक कार्यक्रमको आयोजना गरि कार्यालयको उद्घाटन गरेको हो। नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार महेन्द्र श्रेष्ठले रिबन काटी कार्यालयको उद्घाटन गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले राजनीतिक भागवण्डाको विषयवस्तु बनाएर सदस्यता बनाउने दिन गएको बताए । उनले जनजाति पत्रकार संगठित हुँदै गएकोले राजनीतिक भागवण्डा गर्ने दिन अन्त्य भएको उनको भनाइ थियो । पत्रकारको नेतृत्वमा स्वच्छ छवि तथा हकहितका लागि लड्ने व्यक्ति आउनु पर्ने उनको धारणा थियो ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले जनजाति पत्रकारहरुलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेवा पत्रकारको कार्यालय स्थापनाप्रति खुशी व्यक्त गर्दै आफूले प्राप्त गर्ने एक महिनाको तलब सहयोग गर्ने बचन दिए । जनजाति पत्रकारको हकहितका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमहरु संचालन गर्ने लैजाने उनले विश्वास दिलाए ।
कार्यक्रममा नेवा पत्रकार राष्ट्रिय दबू चितवनका संस्थापक अध्यक्ष अमरदेव प्रधान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवन (फोनिज)का संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, फोनिज चितवनका अध्यक्ष रमेश रानामगर, केन्द्रीय सदस्य राजु चौधरी, तामाङ पत्रकार संघ केन्द्रीय सचिव उर्गेन तामाङ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, तमू (गुरुङ) संचारकर्मी संघ नेपालका केन्द्रीय सचिव चित्र बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
यसैबिच युगिन खबर डट कम अनलाईन पनि सन्चालनमा ल्याएको छ । दबुका सदस्य अनुज जोशीले अनलाईन सन्चालनमा ल्याएको हो । प्रबन्ध निर्देशक रहेका जोशीले आदिवासी लगायत समाजमा ओझेल परेका विषयलाई केन्द्रमा राखेर सामग्री पस्कने बताए ।
यस्तै दबु र युगिन खबर प्रालिले होली विशेष कार्यक्रम पनि सम्पन्न गरेको छ। कार्यक्रम नेवाः पत्रकार राष्ट्रिय दबू चितवनका अध्यक्ष कमलमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव सिर्जना तामाकारले गरेका थिए।