घैरुङ, १ फागुन । गोरखाको शहिद लखन गाउँपालिकाले भोली सोमबार सार्वजनिक बिदा दिएको छ । नेपालको प्रथम शहिद लखन थापाको १४५ औं स्मृति दिवसको अवसर पारेर भोली फागुन २ गते गाउँपालिकाभर सार्वजनिक विदा दिएको हो ।
शहिद लखन गाउँपालिकाको २०७४ फागुन ६ गते बसेको गाउँकार्यपालिकाको बैठकले नेपालको प्रथम शहिद लखन थापाको स्मृति दिवसको दिन फागुन २ गते गाउँपालिका भर सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सोही बमोजिम हरेक वर्ष गाउँपालिकाले फागुन २ गते स्थानीय विदा दिने गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले बताए ।
जहानियाँ राणा शासनका बिरुद्ध आवाज उठाएकै कारण विसं १९३३ फागुन २ गते लखन थापालाई शहिदलखन गाउँपालिका बुङकोट ७ काहुलेभंगारमा झुण्डाएर हत्या गरिएको थियो । उनीसँगै शाहादत प्राप्त गरेका अन्य अग्रणी ६ जना शहीदहरुको स्मृति दिवसको अवसरमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए ।
सोमवार गाउँपालिका, वडा लगायत सबैकाम बन्द हुनेछ भने स्मृति दिवसको अवसरमा काहुलेभंगारमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । शहीदलखन गाउँपालिकाले लखन थापाको अर्धकदको शालिक, पार्क, कुण्ड पनि निर्माण गरेको छ ।
