खगेन्द्र राना मगर, दैलेख, २४ माघ । दैलेखको भगवतीमाई गाउँपालिका ६ चिपीनका किसानहरू व्यवसायीक तरकारी खेती तर्फ लागेका छन् । व्यवसायीक रुपमा हुने तरकारी खेतीबाट उनीहरूले आम्दानी पनि राम्रो गर्ने गरेका छन् । उनीहरू व्यवसायिक तरकारी खेती सँगै बाख्रा पालन पनि गरिरहेका छन् ।
दैलेखका अधिकांश युवा रोजगारीको खोजी गर्दै भारत जाने गरेको भएपनि भगवतीमाई गाउँपालिका वडा नम्बर ६ चिपीन तडाका चित्रबहादुर खत्रीले व्यवसायीक किसानको परिचय बनाउन मेहनेत गरिरहनुभएको छ । उहाँले अहिले विभिन्न जातका फलफुल लगाएत तरकारी खेती गरिरहनुभएको छ ।
ग्रामीण जलस्रोत परियोजना नामक गैह्र सरकारी संस्थाको सहयोगले गाउँमा हाल २० जना किसानले व्यवसायीक रुपमा तरकारी खेती र बाख्रा पालन गर्दै आएका छन् । उनीहरूले आफ्नै बारीमा फलेका विभिन्न जातका तरकारी बिक्री गरी मासीक २० देखि २५ हजारसम्म आम्दानी गर्दै आएका छन् । स्थानीय सरकारले भने आफूहरूलाई कुनै सहयोग नगरेको किसानको गूनासो छ ।
पालिका भित्रका सबै नागरिकलाई व्यवसायीक कृषिमा जोड्न र बजारको व्यवस्थापनको लागि पालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण लगायतका काम गरिरहेको भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताउनुभयो ।
गाउँमा नै स्वरोजगारको अवसर पाए आफूहरू रोजगारी खोज्दै बिदेश नजाने तर त्यसको लागि स्थानीय सरकारले पनि सघाउनुपर्ने युवाहरू भनाइ रहेको छ ।