पोखरा
पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ। अर्का एक जना घाइते भएका छन्।
पोखरा महानगरपालिका वडा नम्वर – १८ सराङकोटबाट उडेको फिष्टेल कम्पनीको प्याराग्लाईडिङ उडान भरेर ल्याण्ड गर्ने क्रममा सोही वडाको क्यामचोकमा सोमबार दिउँसो अन्दाजी १ बजेको समयमा दुर्घटना भएको हो। दुर्घटनामा परि प्याराग्लाईडिङमा सवार प्यारा पाइलट पोखरा – २८ कालिका घर भइ हाल पोखरा – ६ लेकसाइड बस्दै आएका ३८ वर्षीय राजु गैरे नेपालीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रहरीका अनुसार गम्भीर घाइते नेपालीलाई तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै दुर्घटनामा परी प्याराग्लाईडिङमा सवार काठमाण्डौ जिल्ला बुढानिलकन्ठ नगरपालिका – २ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार घाइते श्रेष्ठको अवस्था चिन्ताजनक रहेको छ । उनको छाती र खुट्टामा चोट लागेको छ ।प्याराग्लाईडिङ अवतरण स्थान भन्दा झन्डै डेढ किलोमिटर माथि दुर्घटना भएको थियो।