मानबहादुर कुँवर, जुम्ला, ११ माघ । हिमाली जिल्ला जुम्लामा सडक पुगेको १६ वर्ष भएपनि अझै कर्यौँ गाउँबस्तीमा सडकले छोएको छैन । दुरदराजको विकास गर्ने जिम्मेवारी पाएका स्थानीय सरकारले पाँच वर्षे कार्यकाल सकाउनै लागेपनि दुर्गम गाउँहरूको अवस्था उस्तै रहेको स्थानीयवासीले बताएका छन् ।
स्थानीयवासी लालबहादुर थापाले गाउँमा आलु र स्याउ प्रशस्तै फल्ने भएपनि सडकको पहुँच नहुँदा बिक्रीवितरण गर्न नपाएको बताउनुभयो । आफ्नो गाउँसम्म सडक आए पर्यटकिय गतिविधी बढ्दै गाउँ समृद्ध हुने स्थानीय कालिबहादुर बुढाको अपेक्षा छ । जुम्लाकै विकट मानिने तिला गाउँपालिका, जटिल भुगोलका कारण विकासमा पछि परेको जनप्रतिनिधीहरू बताउँछन् ।
जुम्लाको राँसा, मालापानी, खोप्री लगायतका गाउँमा यो आर्थिक वर्षभित्र बाटो पु¥याउने योजना रहेको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।पहाडका चारै तिर छरिएर रहेका बस्तीमा बाटो, बिजुली र विकासका अन्य सुविधा पु¥याउन सहज नभएपनि स्थानीय सरकारले अपेक्षा अनुसार विकासमा पहल नगरेको नागरिकहरू बताउँछन् ।