मिस गुरुङ इन्टरनेशनलको चौथो संस्करण सुरु भएको छ। मृगतृष्णा फेसन एण्ड प्रोडक्शन हाउसद्वारा आयोजित प्रतियोगिताकालागि केही दिन अघि नै आवेदन खुला गरिएको हो। आयोजकले ‘मिस गुरुङ इन्टरनेशनल–२०२१’का लागि देशको प्रमुख सहर काठमाण्डौ र अन्य शहरहरुमा अनलाईन मार्फत अडिसन लिँदैछ ।
प्रतियोगिताको चौथो संस्करणका लागि अडिसनको तयारी भइरहेको आयोजक संस्थाकी अध्यक्ष तथा फेसन डिजाइनर तृष्णा गुरुङले बताइन् । उनका अनुसार असोज १६ गते अडिसन काठमाडौं स्थित बिशाल बजारको माथिल्लो तल्लामा रहेको बेन्टो रेष्टुरेन्टमा हुँदैछ, भने काठमाण्डौ भन्दा बाहिर अन्य शहरका आबेदकहरु संग अनलाईन मार्फत असोजको १७ र १८ गते लिने भएको छ।
‘मिस गुरुङ इन्टरनेशनल–२०२१’का मा अडिसन दिएका मध्ये देशभरी बाट ३० जनालाई छनोट गरेर फाइनलमा उतार्ने आयोजकको लक्ष्य रहेको छ। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आउँदो कार्तिक महिनाको अन्त्यमा राजधानीको जमल स्थित राष्ट्रिय नाच घरमा हुने आयोजक संस्थाकी अध्यक्ष गुरुङले जानकारी दिइन्।
सन् २०१४ देखि यो प्रतियोगिता सुरु भएको हो। ‘मिस गुरुङ इन्टरनेशनल’लाई प्रतिष्ठित र भव्य बनाउन देशभरीबाट आवेदन लिएको आयोजकले जनाएको छ।
यस प्रतियोगिताका विजेताले नगद १ लाखको साथै १० लाख रुपैयाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गर्ने जनाइएको छ। साथै, थाईल्यान्ड भ्रमणको पनि अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।