आँबुखैरेनी, ५ भदौ । शिक्षक भनेका आमा बुबा जस्तै हुन्। समस्यामा आफ्नो शिक्षकलाई सहयोग गर्नु नै ठुलो गुरु धर्म हो र यो धर्म संसारको सबै भन्दा पवित्र धर्म हो। यो भनाईको जिवन्त उदाहरण हुन् अर्चना श्रेष्ठ।
आँबुखैरेनीमा रहेको मस्र्याङदी बालज्योती आवासीय माविका पूर्व विद्यार्थी अर्चना श्रेष्ठले मृगौला पिडित आफ्नो शिक्षक बुद्धि बहादुर थापाको उपचारका लागि आर्थिक सहयोग पठाएको छ। पछिल्लो समय अमेरिकामा अध्ययन गरिरहेका श्रेष्ठले गोफण्ड मार्फत विदेशमा रहेका नेपालीहरुसँग रकम संकलन गरि २ लाख ३० हजार रुपैयाँ शिक्षक थापाको उपचारको लागि पठाएको हो।
उनले अमेरिकाबाट पठाएको रकम उनका आमा गौरी प्रधान श्रेष्ठ र बुवा बलराम श्रेष्ठले आज शिक्षक बुद्धि बहादुर थापालाई हस्तान्तरण गरेको छ।
दुबै मृगौला फेल भई पोखराको फेवा सिटी, फिस्टेल र मेट्रो अस्पतालमा पालै पालो उपचार गराईरहनुभएका बुद्धि बहादुर थापाको जिवन बचाउ अभियानमा विभिन्न व्याक्ति तथा समुह संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् । डाक्टरको सल्लाह अनुसार थापाको छिटै मृगौला प्रत्यारोपण गर्नुपर्ने र थप उपचारका लागि आर्थिक अवस्था ज्यादै कमजोर भएकोले जीवन रक्षाका गरिदिन उहाँको परिवारजन, आफन्त, शुभचिन्तक, विद्यार्थी, शिक्षक लगाएतकाले सबैसंग सहयोगको लागि अपिल गरेका छन ।
मानव सेवामा समर्पित इच्छुक मनहरुले सहयोगको लागि एसबिआई बैंकमा बुद्धि बहादुर थापाको नाममा रहेको खाता नम्बर १९९१५२४१४०६१८५ मा आर्थिक सहयोग जम्मा गर्न सक्नुहुनेछ ।