आँबुखैरेनी ,८ साउन । प्रहरीले तनहुँबाट ठूलो परिमाणको प्रतिबन्धित गाँजा सहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–७ घर भई मुग्लिन बस्ने २५ वर्षीय मिलन परियार र पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने २८ वर्षीय सुमन परियार रहेका छन् ।
प्रहरीले उनिहरुको साथबाट १० किलो दुई सय २० ग्राम गाँजा बरामद गरेको छ । उनीहरुलाई आँबुखैरेनी ४ मुग्लिन पुलजिपबाट शुक्रबार पक्राउ गरिएको हो ।
मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १६ प ८२६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शङ्का लागेर प्रहरीले चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।