कोरोना भाइरसको उत्पति र उद्गमस्थल बारे अध्ययन गर्न गुप्तचर निकायहरुलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले आदेश दिनुभएको छ । कोरोना भाइरसको उत्पतिबारे विवाद र आशंका बढ्दै गएका बेला अमेरिकी राष्ट्रपति बाइडेनले ९० दिनभित्र अध्ययन गरिसक्न गुप्तचर निकायका प्रमुखहरुलाई आदेश दिनुभएको हो ।
आफ्नो अध्ययन क्षमता र गतिलाई दोब्बर बनाएर ९० दिन भित्र आफूलाई ब्रिफिङ्ग गर्न बाइडेनले गुप्तचर तथा कूटनीतिक निकायलाई वक्तव्य मार्फत निर्देशन दिनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गएको महिना विश्व स्वास्थ्य संगठनले चिनियाँ सहित अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको प्रतिवेदन सार्वजनिक गर्दै प्रयोगशालाबाट कोरोना भाइरस मानिसमा सरेको हुन सक्ने सम्भावना अति दुर्लभ रहेको बताएको थियो ।