काठमाण्डौ, १३ जेठ । प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध परेका रिट माथि आजबाट सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतमा परेका ३० मध्ये १९ रिटको आज पेशी तोकिएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिशमा यही जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गर्नुभएको थियो । उक्त कदमका विरुद्ध विपक्ष गठबन्धनका १ सय ४६ सांसद सहित कानुन व्यवसायीले ३० वटा रिट दायर गरेका छन्। ३० रिटमध्ये ११ वटा संवैधानिक इजलासमा र १९ वटा साधारण इजलासमा सुनुवाइ तोकिएको छ।
११ रिटमाथि भोलि संवैधानिक इजलासमा सुनुवाइ हुनेछ। विपक्षी दलका तर्फबाट रिट दर्ता गराउँन कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल सहित सांसदहरू सर्वोच्च पुगेका थिए।