काठमाण्डौ, ७ जेठ । प्रधानमन्त्री पदका लागि प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको दुइजनाको दाबी परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएको संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रियामा प्रधानमन्त्रीको लागि २ जनाको दाबी परेको हो ।
प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि १ सय ५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी पेश गर्नुभएको छ । ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी जसपाका ३२ सांसदको हस्ताक्षर सहितदाबी पेश गर्नुभएको हो ।
जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएको छ । काँग्रेस सभापति देउवालाई पनि प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४९ सांसदको हस्ताक्षर सहित राष्ट्रपति निवासमा पत्र दर्ता भएको छ । राष्ट्रपति समक्ष १४९ सांसदको हस्ताक्षर देखाएर, बहुमत प्रस्तुत गरेर निस्किएको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिक्रिया दिनुभयो ।
काँग्रेसको समर्थकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई तथा जनमोर्चाका नेता दुर्गा पौडेल हुनुहुन्छ ।