काठमाण्डौ, ४ जेठ । प्रतिपक्षि दल नेपाली काँग्रेस र माओवादी केन्द्रले बजेट ल्याउने प्रक्रियामा सरकार संविधान विपरित हिँडेको आरोप लगाएका छन् । उनीहरूले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी सरकारले गरिरहेको आरोप लगाएका छन् ।
संविधानले जेठ १५ गते बजेट प्रस्तुत गरिसक्नु पर्ने र त्यसको १५ दिनअघि नै बजेट पुर्वको छलफल सकिसक्नुपर्ने व्यवस्था गरेको छ । तर, जेठ ३ गते भइसक्दा पनि संसद बैठक आह्वान नगर्नुले सरकार संसद नै भङ्ग गरेर अध्यादेशमार्फत् बजेट ल्याउने तयारीमा लागेको हो कि भन्ने लागेको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणलेसीआईएनसँग बताउनुभयो ।
माओवादी केन्द्रले पनि छिटो संसद बैठक आह्वान गरेर प्रक्रिया अनुसार नै बजेट ल्याउन सरकारलाई आग्रह गरेको छ । सीआईएनसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देब गुरुङ्ले सरकार संविधान र कानुन विपरित हिँड्न लागेको आरोप लगाउनुभयो । तर, नेकपा एमालेले भने सरकारले समयमा नै बजेट ल्याउने तयारी गरिरहेको दावी गर्दै संविधान विपरित नजाने बताएको छ ।
सीआईएनसँग कुरा गर्दै प्रमुख सचेतक विशाल भट्राइले कानुन, संविधान अनुसार नै बजेट आउने बताउनुभयो । संघीय संसद सचिवालयले भने दलिय सहमति अनुसार अब बाँकी रहेको समयअवधिभित्रमा प्रक्रिया अनुसार नै नीति तथा कार्यक्रम र बजेट ल्याउने गरि व्यवस्था गर्ने तयारी गरेको छ ।
सीआईएनसँग कुरा गर्दै सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले छोटो प्रक्रियाबाट संसद बैठकको प्रक्रिया अगाडी बढाउने तयारी गरिरहेको जानकारी दिनुभयो । अर्थमन्त्रालयले पनि बजेट निर्माण भइसकेको जनाएको छ । तर, संसद बैठक नबस्दा बजेट प्रस्तुत हुने कार्यतालिका भने प्रभावित हुने देखिएको छ ।