काठमाण्डौ, २३ बैशाख । एमालेले राष्ट्रिय सभा बागमती प्रदेशको उपनिर्वाचनका लागि जित सुनिश्चित भएपछि उम्मेदवार घोषणा गर्ने भएको छ । स्थायी कमिटीको आजको बैठकले राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवारको जितका आधार बारे छलफल गरेको थियो ।
गृहमन्त्री रामहादुर थापा माओवादीबाट निर्वाचित भएर एमाले प्रवेश गरेपछि रिक्त भएको वागमती प्रदेशको राष्ट्रिय सभा सिटमा जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । सो स्थानमा थापालाई नै उम्मेदवार बनाउने एमालेले यसअघि निर्णय गरेको थियो ।
एमालेका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीको उम्मेदवारको जित सुनिश्चितता हुने गरी मतदाताहरू सँग छलफल गर्ने र त्यसपछि उम्मेदवारी घोषणा गर्ने निर्णय भएको बताउनुभयो । राष्ट्रिय सभा उपनिर्वाचनमा जित सुनिश्चितताका लागि नेताहरूले विभिन्न सुझाव दिएको र मतदातासँग कुराकानी पछि उम्मेदवार घोषणा गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
वागमती प्रदेशको राष्ट्रिय सभा रिक्त पदमा काँग्रेस, माओवादी, एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष तथा जनता समाजवादीको उपेन्द्र यादव समूहले भने खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।