काठमाण्डौं, ३ कार्तिक
आज दशैँ अर्थात नवरात्रको तेस्रो दिन गोरखाका मनकामना लगायत देशभरका शक्तिपिठहरु सुनसान बनेको छ। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण जोखिमका कारण गत वर्षहरुमा जस्तो नवदुर्गाका मन्दिर र शक्तिपीठमा भक्तजनको भीड छैन।
देशैभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठमा आज पनि विधि पूजा मात्रै गरिदैछ।
विगतका वर्षहरुमा गोरखाको मनकामना, काठमाण्डौका गुह्येश्वरी, इन्द्रायणी, तलेजुभवानी, दक्षिणकाली, कालीकास्थान,मैतीदेवी, शोभा भगवती, बिजेश्वरी, नक्साल भगवती र भद्रकाली सहितका देवी दुर्गाका शक्तिपीठहरमा हजारौं दर्शनार्थीहरुको भीड लाग्ने गरेको थियो।
त्यसैगरि धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथीभरा लगायतका शक्तिपीठमा दर्शनार्थीको भीड लाग्ने गरेको भए पनि यसपालि सुनसान बनेको छ। दशैँ अर्थात नवरात्रि नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा रहेको छ।