मनकामना, १४ चैत्र । गोरखाको शहिदलखन गाउँपालिका–३ मनकामनामा व्यवसायीक अचार उत्पादन तालिम सम्पन्न भएको छ। मनकामना कोसेली एग्रो कन्सर्नको आयोजना, महिला उद्यमशिलता विकास परियोजना, लुथरन वल्र्ड रिलाइफ, गोरखा उद्योग बाणिज्य संघ मनकामना इकाई र शहिदलखन गाउँपालिकाको सहकार्यमा गत फाल्गुन ९ गते बाट सुरु भएको तालिमको आज (शनिबार) समापन गरिएको हो।

मनकामना कोसेली एग्रो कन्सर्नकी अध्यक्ष सर्मिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमुख अतिथी वडा नम्बर २ का वडा अध्यक्ष अचलबाबु थापा मगरले प्रमाण पत्र वितरण गर्नु भएको थियो। उद्यम गरौ, स्वरोजगार बनौं, स्थानीय उत्पादनको उपभोग गरि स्वस्थ बनौं, महिलाहरुमा उद्यमशिलता विकास र स्वरोजगारी श्रृजनाका लागि खाद्य प्रसोधन सीप विकास कार्यक्रम भन्ने नाराको साथ सम्पन्न कार्यक्रममा शहिदलखन गाउँपालिका २ र ३ नम्वर वडाको जम्मा ३२ जना महिलाहरुको सहभागिता रहेको थियो। तालिममा सहभागीहरुलाई मुना श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
