चितवन। नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ । भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये २० किलोमिटरमा तटबन्ध गरिएको छ । यसमध्ये एक किलोमिटर १५० मिटर तटबन्धमा बाढीले असर पुर्याएको हो ।
यस्तै पर्सौनी, तमासपुर, बगुवानसम्म विभिन्न स्थानमा गरी १५ किलोमिटर, खोटेसिमलदेखि ब्रह्मस्थानसम्म ५०० मिटर, पिठौजी, नौनेघाट, घोसारघाट क्षेत्रमा ७०० मिटर र सुस्ता क्षेत्रमा एक किलोमिटर ५०० मिटर क्षेत्रफलमा बाढीले क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो । ती क्षेत्रमा तटबन्धको काम कम भएकाले क्षति धेरै भएको हो । तटबन्ध गरिएका ठाउँहरूमा सामान्य क्षतिमात्र रहेको छ ।
उहाँका अनुसार नवलपरासी क्षेत्रमा नौ किलोमिटर क्षेत्रमा मात्र तटबन्ध गरिएको छ । नवलपरासी क्षेत्रमा नारायणी पुलबाट तल ९८ किलोमिटर क्षेत्र पर्दछ । तटबन्धका काम नभएका क्षेत्रमा बाढीले कटान गरेको उहाँको भनाइ छ । तटबन्धका कारण चितवनतर्फ क्षति कम भएको र नवलपरासीतर्फ काम हुन नसक्दा बढी क्षति भएको हो ।रासस