काठमाडौं । ब्राजिलका स्टार फरवार्ड राफिन्हाले भारतविरुद्धको ऐतिहासिक मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।
अस्ट्रेलियाविरुद्धको खेलमा दायाँ तिघ्रामा चोट लागेपछि राफिन्हालाई ब्राजिलियन फुटबल महासंघ ९सीबीएफ०ले टोलीबाट हटाएको हो । अस्ट्रेलियाविरुद्ध ब्राजिल ४–२ गोलले विजयी भएको खेलमा राफिन्हाले पेनाल्टीमार्फत एक गोल गरेका थिए ।
ब्राजिलले आगामी अक्टोबर ३ मा भारतको कोलकातास्थित साल्ट लेक स्टेडियममा भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यो ब्राजिल र भारतको पुरुष राष्ट्रिय टोलीबीचको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय भेट हुने बताइएको छ ।
सीबीएफका अनुसार मेडिकल परीक्षणमा राफिन्हाको दायाँ तिघ्राको पछिल्लो भागमा सामान्य मांसपेशी समस्या देखिएको छ । चोट गम्भीर नरहेको बताइए पनि उनको पुरानो चोटको इतिहासलाई ध्यानमा राख्दै ब्राजिलले जोखिम नलिने निर्णय गरेको हो ।
राफिन्हा थप परीक्षण तथा उपचारका लागि बार्सिलोना फर्किने अपेक्षा गरिएको छ । उनको स्थानमा भारतविरुद्धको खेलका लागि ब्राजिलले अर्को खेलाडीलाई टोलीमा बोलाउने छैन।