सुलीकोट (गोरखा), असोज १५ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–५ स्थित धार्मिक तथा पर्यटकीय स्थल सेराङ जाने पदमार्गमा दर्जनौँ ठाउँमा पहिरो खसेपछि आवागमन ठप्प भएको छ। गत शुक्रबारदेखि आइतबारसम्म परेको लगातार वर्षापछि पदमार्गका विभिन्न स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको हो।
पदमार्ग अवरुद्ध भएपछि सेराङ गुम्बा, सेराङ विद्यालय र सेराङ वृद्धाश्रममा रहेका पाँच सयभन्दा बढी मानिस त्यहीँ रोकिएका छन्। उनीहरूका लागि खाद्यान्न तथा अत्यावश्यक सामग्रीसमेत ढुवानी गर्न नसकिएको चुमनुब्री गाउँपालिका–५ का वडाध्यक्ष काल्देन छेवाङले जानकारी दिनुभयो।
उहाँका अनुसार पदमार्गमा करिब १२ देखि १५ ठाउँमा पहिरो खसेको छ। सेराङमा सामान ढुवानी गर्ने मुख्य साधन खच्चडसमेत हिँड्ने बाटो अवरुद्ध भएपछि बिचमै रोकिएका छन्। पहिरोका कारण खच्चडसमेत सेराङमा थुनिएपछि खाद्यान्न र अत्यावश्यक सामग्री पुर्याउन सकिएको छैन।
चुमनुब्री–५ को बिहीदेखि सेराङ गुम्बासम्म पुग्न मानवबस्तीविहीन पदमार्ग हुँदै कम्तीमा पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ। सोही पदमार्ग अवरुद्ध भएपछि स्थानीयवासीसँगै पर्यटकको आवतजावतसमेत प्रभावित भएको चुमनुब्री गाउँपालिकाले जनाएको छ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार तत्काल अस्थायी रूपमा बाटो सञ्चालनमा ल्याउन मात्रै १५ देखि २० लाख रुपियाँसम्म खर्च लाग्ने प्राविधिकको अनुमान छ। गाउँपालिका र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को सहयोगमा तत्काल बाटो सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो।
दीर्घकालीन रूपमा सुरक्षित र पक्की संरचना निर्माणका लागि भने प्रदेश सरकारको सहयोग आवश्यक रहेको चुमनुब्री गाउँपालिका–५ का वडाध्यक्ष काल्देन छेवाङको भनाइ छ।