Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

लाल सागरका रणनीतिक टापु हुथीको कब्जामा, विश्वले तेल नै नपाउने जोखिम

लाल सागरका रणनीतिक टापु हुथीको कब्जामा, विश्वले तेल नै नपाउने जोखिम

एजेन्सी

२९, भाद्र २०८३
लाल सागरका रणनीतिक टापु हुथीको कब्जामा, विश्वले तेल नै नपाउने जोखिम
images

यमनका इरान–समर्थित हुथी विद्रोहीले दक्षिणी लाल सागरका थप रणनीतिक टापुहरू कब्जा गरेका छन् । सरकारी र हुथी अधिकारीका अनुसार सोमबार भएको यो कदमले महत्त्वपूर्ण समुद्री जलमार्गमा विद्रोहीको नियन्त्रण थप बलियो बनाएको छ।

images
images

हुथीहरूले ‘ग्रेटर हानिश’ र ‘लेसर हानिश’ टापुमा नियन्त्रण कायम गरेका हुन्। यो घटनाक्रम साउदी अरबको समर्थन प्राप्त यमनी सरकारी सेनाले ‘बाब अल–मान्देब जलसन्धि’ आसपास हुथीहरूको तीव्र अग्रगमन रोक्न जवाफी कारबाहीको प्रयास गरिरहेका बेला भएको हो।

विश्व व्यापार र तेल ढुवानीका लागि महत्त्वपूर्ण मानिने बाब अल–मान्देब जलसन्धि लाल सागर एडेनको खाडी र हिन्द महासागरसँग जोड्ने प्रमुख समुद्री मार्ग हो।

सरकारी दुई अधिकारी र एक हुथी अधिकारीका अनुसार, सरकारी गठबन्धनका सयौँ सैनिक उक्त द्वीपसमूहबाट पछि हटेपछि हुथी लडाकु बाब अल–मान्देबबाट करिब १६० किलोमिटर उत्तरमा रहेका हानिश टापुमा तैनाथ भएका हुन्। पत्रकारसँग कुरा गर्ने अनुमति नभएकाले उनीहरूले नाम सार्वजनिक नगर्ने सर्तमा जानकारी दिएका थिए।

हुथीहरूले गत साता नजिकैको मुख्य भूमिमा रहेको बन्दरगाह सहर मोखा र बाब अल–मान्देबभित्र पर्ने मायुन टापु कब्जा गरेका थिए। पछिल्लो अग्रगमनसँगै उनीहरू जलसन्धिको अर्को किनारमा रहेको जिबुटीस्थित अमेरिकी सैन्य आधारबाट करिब ३२ किलोमिटरको दूरीमा पुगेका छन्।

हुथीहरूको पछिल्लो सफलताले उनीहरूलाई लाल सागर हुँदै हुने साउदी तेल ढुवानीमा थप दबाब सिर्जना गर्ने क्षमता दिएको छ। यस क्षेत्रको तनाव बढ्दा विश्वव्यापी तेल आपूर्ति र मूल्यमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ।

सरकारी सेनाले सुरुमा खासै प्रतिरोध नगरी पछाडि हटे पनि सप्ताहन्तमा पुनः सङ्गठित हुने प्रयास गरेको थियो। यमनी सेनाले आइतबार अबेर जलसन्धिको उत्तरमा रहेको रणनीतिक सहर धुबाबतर्फ सरकारी सेना अघि बढिरहेको जनाएको छ।

तीन वर्षदेखि तुलनात्मक रूपमा कायम रहेको युद्धविरामपछि यमनमा पुनः बढेको लडाइँले देशलाई पूर्णस्तरीय गृहयुद्धतर्फ फर्काउने जोखिम बढाएको छ।

इरान र खाडी राष्ट्रबीच ओमानमा हुने बैठक स्थगित

इरान र खाडी राष्ट्रका प्रतिनिधिबीच ओमानको सलालाहमा सोमबार हुने भनिएको क्षेत्रीय बैठक स्थगित भएको छ । ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमद अल बुसाइदीले आइतबार सामाजिक सञ्जालमार्फत बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । 

उनले क्षेत्रीय सहमतिलाई प्राथमिकता दिँदै सोमबार सलालाहमा आयोजना गर्ने तयारी गरिएको बैठक स्थगित गरिएको बताएका छन् । ओमानले क्षेत्रीय स्थायित्व र दीर्घकालीन सहकार्यलाई सहयोग पुर्याउने संवादलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ । इरानको विदेश मन्त्रालयअन्तर्गत फारसको खाडीसम्बन्धी महानिर्देशक मोहम्मद अली बाकले पनि बैठक स्थगित भएको पुष्टि गरेका छन् । 

उनले इरानको सरकारी समाचार संस्था इरना दिएको अन्तर्वार्तामा केही क्षेत्रीय राष्ट्रको आग्रहपछि बैठक अर्को मितिका लागि सारिएको जानकारी दिएका छन् । उनका अनुसार बैठक स्थगित गर्ने निर्णय इरान र ओमानबीचको संयुक्त सहमतिमा गरिएको हो ।
उनले बैठक आयोजना गर्न उपयुक्त समय तय गर्ने विषयमा ओमानसँग इरानले निरन्तर परामर्श गरिरहेकोबताएका छन् । 

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शुक्रबार खाडी क्षेत्रका राष्ट्रका विदेशमन्त्रीहरू सोमबार ओमानमा भेला हुने कार्यक्रम रहेको जानकारी दिएका थिए । बैठकमा क्षेत्रीय विषयमा विचार आदानप्रदान गर्ने तयारी गरिएको थियो ।

बैठकमा विशेषगरी होर्मुज जलडमरूमध्यमा सुरक्षित समुद्री मार्ग निर्धारण गर्ने विषयमा इरान र ओमानबीच भइरहेको छलफलका बारेमा समेत विचारविमर्श गर्ने तयारी थियो । प्रवक्ता बघाईले शनिबार अल जजिरासँग कुरा गर्दै बैठकमा खाडी राष्ट्रका साथै इरान र इराकका विदेशमन्त्रीहरूको सहभागिता रहने अपेक्षा गरिएको बताएका थिए । 

बैठक स्थगित भए पनि क्षेत्रीय स्थायित्व, संवाद र सहकार्यका लागि आवश्यक कूटनीतिक प्रयासलाई निरन्तरता दिने तयारी रहेको बताइएको छ । 

images
प्रकाशित मिति :भाद्र २९, २०८३ सोमवार - २०:१५:५३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology