काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा सत्ता पक्ष र प्रतिपक्षका परम्परागत आधारबाट नभई राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायमाझ एकढिक्का भएर उभिन आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एक भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्ज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गर्नुभयो ।
जलवायु सङ्कटमा परेकाहरू जलवायु अन्यायका पीडित भएको बताउँदै उहाँले यो विपत्तिका कारक ती पीडित नागरिक थिएनन् भन्नुभयो । “जलवायु सङ्कटको असमान भारका कारण जीवन गुमाउन विवशहरूका श्रद्धाञ्जली दिएर मात्रै पुग्दै विश्वसँग न्याय माग्ने साहस बोटल्नुपर्छ”, सभापति लामिछानेको भनाइ थियो । उद्धार र खोजीका काममा सुरक्षाकर्की र उद्धारकर्ताको प्रशंसा गर्दै उहाँले यस पीडामा सबै मित्रराष्ट्रहरूको साथ र सहयोग रहेको उल्लेख गर्दै सङ्कटमा निजी क्षेत्र, सञ्चार क्षेत्र र गैरआवासीय नेपाली क्षेत्रले गरेको योगदानको प्रशंसा गर्नुभयो । रासस