चितवन (मायाटार)। चितवनको तराई क्षेत्रमा अत्यधिक गर्मी बढिरहेका बेला इच्छाकामना गाउँपालिका–२ स्थित मायाटार आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। चिसो मौसम, रमणीय प्राकृतिक दृश्य र रैथाने परिकारका कारण पछिल्ला वर्षहरूमा मायाटार गर्मी छल्ने उपयुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको हो।
चितवनको सदरमुकाम भरतपुरबाट करिब ४० किलोमिटर दूरीमा रहेको मायाटारमा यतिबेला भरतपुर, रत्ननगरलगायत क्षेत्रका बासिन्दा परिवार, साथीभाइ तथा विभिन्न समूहका साथ पुग्ने क्रम बढेको छ। तल्लो भेगमा अत्यधिक गर्मी भइरहेका बेला मायाटारमा भने राति सिरक ओढेर सुत्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।
सहकारीका साथीहरूसँग मायाटार पुगेका भरतपुर महानगरपालिका–३ का गणेश पौडेलले बजार क्षेत्रबाट छोटो दूरीमै यति सुन्दर र चिसो वातावरण पाउँदा आफू निकै प्रभावित भएको बताए। उनले चिसो मौसममा रमाउन र साथीसँग समय बिताउन मायाटार उपयुक्त गन्तव्य बनेको उल्लेख गरे।
भरतपुर–७ प्रेमबस्तीकी सुनिता पौडेलले पनि डेढ घण्टाको यात्रामै चितवनभित्र यति चिसो र रमणीय स्थान भेट्दा खुसी लागेको बताइन्। उनले पर्यटकका लागि बसोबास र अन्य केही पूर्वाधार थप व्यवस्थित गर्न सके मायाटार अझ लोकप्रिय बन्ने धारणा राखिन्।
पर्यटकको संख्या बढ्दै जाँदा मायाटारमा होमस्टे तथा रिसोर्ट सञ्चालन पनि विस्तार हुँदै गएको छ। पाँच वर्षअघि विदेशबाट फर्किएका टिका गुरुङले ‘मायाटार होम स्टे’ सञ्चालनमा ल्याएपछि आसपासका क्षेत्रमा समेत थुप्रै होमस्टे खुलेका छन्। सार्वजनिक बिदाका दिनमा बास बस्ने ठाउँसमेत अभाव हुने अवस्था देखिन थालेको स्थानीयको भनाइ छ।
होमस्टे सञ्चालक गुरुङका अनुसार मायाटारमा आउने पर्यटकले अर्गानिक खानाका साथै चिसो मौसमको विशेष आनन्द लिन पाउँछन्। यद्यपि बाटोमा विश्रामस्थल र मोबाइल नेटवर्कको समस्या समाधान गर्न सके पर्यटकलाई अझ सहज हुने उनको भनाइ छ।
दुई वर्षअघि मात्रै विद्युत सेवा पुगेको मायाटारमा सडक कालोपत्रे भएपछि आवागमन सहज बनेको छ। शक्तिखोर–फिस्लिङ सडकखण्डअन्तर्गत पर्ने यस क्षेत्रमा पर्यटक आगमन बढेसँगै उपरदाङगढी, घुर्केस र तेर्सेलगायत स्थानमा करिब दुई दर्जन होमस्टे सञ्चालनमा आइसकेका छन् भने केही थप्ने तयारी भइरहेको छ।
पर्यटन गतिविधि विस्तारसँगै स्थानीय चेपाङ समुदायले समेत रोजगारी र आम्दानीको अवसर पाउन थालेका छन्। पर्यटकहरू उपरदाङगढी, मायाटार मन्दिर तथा आसपासका प्राकृतिक दृश्यको अवलोकनमा रमाउने गरेका छन्। स्थानीयका अनुसार अहिले बिदाको समयमा दैनिक करिब ३ सय जना आन्तरिक पर्यटक गर्मी छल्न मायाटार पुग्ने गरेका छन्।