घैरुङ, १ फागुन । तनहँुको मुख्य बजार आँबुखैरेनीबाट मनकामना हुदै गोरखाको शहिदलखन गाउँपालिका केन्द्र घैरुङ पुग्ने सडक कालोपत्रे हुने भएको छ। संघ, प्रदेश र स्थानीय सरकारको त्रिपक्षीय लगानीमा आँबुखैरेनी, रामशाहघाट दोभान, मनकामना, ताक्लुङ, घैरुङ हुदै नामजुङसम्मको सडक कालोपत्रे हुने भएको हो।

यसका लागि आज पोखरामा त्रिपक्षीय सम्झौता भएको शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले जानकारी दिनुभयो। उहाँका अनुसार यो सडक बहुवर्षिय योजना अन्तर्गत निर्माण हुनेछ।

रामशाहघाट दोभान देखि नामजुङसम्म करिब ३५ किलोमिटर रहेको उक्त सडक स्थानीय पूर्वाधार विकाश कार्यालय मार्फत निर्माण हुनेछ। यो सँगै शहिद लखन गाउँपालिकाको केन्द्र घैरुङ पुग्ने दुई वटा सडक कालोपत्रे हुने भएको छ। यस अघि नै ढुङ्गाढेदेखि बुंकोट हुदै नामजुङसम्म पुग्ने सडक कालोपत्रे गर्ने काम भैरहेको छ।