चितवन फागुन,१।वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर बिजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा स्व। बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुने भएको हो ।चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पा चौरमा हुने प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको आज (शनिबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । संघका अध्यक्ष श्रीकृष्ण कार्कीले मैदान मिलाउनेदेखि प्याराफिट निर्माणको काम भइरहेको जानकारी दिए । प्याराफिट ३ हजार दर्शक क्षमताको हुनेछ । खेलाडी र खेलाडीको परिवारको साथमा संघ सधैं छ भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कार्कीले बताए । फुटबलमै लामो समय बिताएका बिजय खड्गीको निधनले संघ निकै मर्माहत भएको समेत उनले बताए ।
कार्यक्रममा बिजयलाई सम्झिदै उनी केही बेर भावुक समेत भएका थिए । २०७५ सालमा आफु जिल्ला फुटबल संघको अध्यक्षमानिर्वाचित हुँदा बिजयले फोन मार्फत बधाई र शुभकामना दिएको क्षण सम्झिदै कार्की भावुक भएका हुन् । उनलाई शुभकामना दिएको केही दिनमा नै बिजयको निधन भएको थियो ।
प्रतियोगिताबाट बचेको रकम बिजयको छोराको अध्ययनका लागि सहयोग गरिने उनले बताए । आफ्नो जीवन नै फुटबलमा सुम्पिएका खेलाडी र उनको परिवारको साथमा संघ छ है भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरेका हौं उनले भने, यसबाट बचेको रकम बिजयको छोराको अध्ययनका लागि सहयोग गर्छौं । यस्ता प्रतियोगिताले खेलाडीलाई खेलमा लाग्न प्रेरित गर्ने उनको विश्वास छ । चितवनले यसको सुरुवात गरेको भन्दै उनले देशभर नै यस्ता प्रतियोगिताहरु हुनु पर्नेमा जोड दिए । एन्फा २०५७ ब्याचका खड्गीले नेपालबाट अण्डर १३ र अण्डर १४ गरी दुई उमेर समूहका खेल खेलेका थिए । कार्यक्रममा पूर्व फिफा रेफ्री विरेन्द्र पाण्डेले बिजयको उत्कृष्ट ड्रिब्लिङ क्षमता प्रशंसा गरे । आफ्नो समयमा उनी ड्रिब्लिङकै लागि प्रख्यात रहेको उनले बताए । एन्फामा पनि उनले राम्रो छाप छोडेका थिए । तर कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारका लागि कतार गएका उनको ३२ वर्षको उमेरमा निधन भएको थियो । बिजयको एक छोरा छन् ।
प्रतियोगितामा ए डिभिजन लिगदेखि राष्ट्रिय टिमका खेलाडी सम्मिलित १० टोली सहभागी हुने संघका महासचिव एवं प्रतियोगिताका संचार संयोजक रामहरि ढकालले बताए । प्रतियोगितामा चितवनका दुईसहित हेटौंडा, पोखरा, काठमाडौं, उदयपुर, बुटवल, नुवाकोट, सिन्धुली र प्रदेश २ को बागमती गरी १० टोली सहभागी हुनेछन् । प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि २७ लाख ७३ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
खेल हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । क्वाटरफाइनलसम्मका खेलका लागि टिकट शुल्क ५० तथा सेमिफाइनल र फाइनलका लागि एक सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । टिकट खरिद गर्ने मध्य प्रत्येक दिन गोलाप्रथाबाट एक जनाले स्मार्ट फोन जित्न सक्ने पनि आयोजकले जानकारी दिएको छ ।
प्रायोजकको तर्फबाट बोल्दै सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक यज्ञबिलास पौडेल ९वाइबी० ले जिल्लाको फुटबल बिकासका लागि सधैं सहकार्य गर्न आफुहरु तयार रहेको बताए । उनले अहिले पनि फुटबलका बिभिन्न गतिविधिमा सेन्ट्रल कलेजले सहयोग गरिरहेको उनले बताए ।
यसैबीच चितवन जिल्ला फुटबल संघका सल्लाहकार एबं युवा व्यवसायी मिलन भट्टराई र उनकी श्रीमती सुनिता न्यौपाने भट्टराईले प्रतियोगितामा नाफा नभए स्व खड्गीको छोरालाई स्नाकोत्तरसम्म अध्ययनमा लाग्ने सबै खर्च व्यहोर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीका अनुसार प्रतियोगिताबाट अपेक्षित रकम नबचेँको खण्डमा उनिहरुले स्व खड्गीको छोरालाई स्नाकोत्तरसम्म अध्ययनमा लाग्ने सबै खर्च व्यहोर्ने छन् । यस्तै प्रतियोगिता सम्पन्न गर्नका लागि उनिहरुले नगद ३ लाख रुपैयाँ सहयोग समेत गरेका छन् ।