कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङमा शिक्षक नियुक्तिका विषयमा विवाद उत्पन्न भएको छ । गाउँपालिकाले पठाएको शिक्षक विद्यालयले माग गरे अनुसार योग्य नभएको भन्दै हाजिर हुन नदिई पुन : परिक्षा लिन खोजेपछि समस्या सिर्जना भएको हो ।
विद्यालयका प्रधानाध्यापक भविश्वर गुरुङका अनुसार कक्षा १ देखि ८ सम्म गणित, विज्ञान र स्वास्थ्य विषय अंग्रेजी माध्यममा अध्यापन गराउन सक्ने शिक्षकको माग गरिएको थियो । तर गाउँपालिकाले पठाएको शिक्षकले आफू प्राथमिक तह (प्रावि) का कक्षा मात्र लिन सक्ने बताएपछि विवाद बढेको हो । प्रधानाध्यापक गुरुङले भने, “हामीले कक्षा ६ र ७ मा स्वास्थ्य विषयको कक्षा लिन आग्रह गरेका थियौँ, तर उहाँले प्रावि तहसम्म मात्र पढाउने बताउनुभयो ।
विद्यालयको आवश्यकता अनुसार माध्यमिक तहसम्म नै अंग्रेजी माध्यममा अध्यापन गर्न सक्ने शिक्षक माग गरेका हौँ ।”उनका अनुसार उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म अंग्रेजी माध्यममा पढाइ हुँदै आएको छ र आगामी वर्ष कक्षा ९–१० समेत सञ्चालन गर्ने तयारी भइरहेको छ। त्यसैले हाललाई प्रावि तहका लागि भए पनि मावि तहसम्म पढाउन सक्ने शिक्षक आवश्यक रहेको उनले बताए ।
विद्यालयले आवश्यकता अनुसार शिक्षक पठाइनु पर्नेमा अन्य विद्यालयका लागि अन्तर्वार्ता लिएका मध्ये वैकल्पिक सूचीमा रहेका शिक्षकलाई पठाइएको आरोप पनि लगाएको छ ।
यता गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले भने सबै प्रक्रिया पूरा गरेर पठाइएको शिक्षकलाई हाजिर हुन नदिनु र पुनः परीक्षा लिने कुरा नियम विपरीत भएको बताए । गाउँपालिकाले केही महिना अघि शिक्षक सेवा आयोगको पाठ्यक्रम र विधि अनुसार परीक्षा लिएर उत्तीर्ण भएकामध्ये वैकल्पिक सूचीमा रहेका शिक्षकलाई उक्त विद्यालयमा पठाइएको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले पनि विद्यालयका प्रधानाध्यापकले पुनः परीक्षा लिने भन्दै शिक्षकलाई हाजिर हुन नदिनु कानुनविपरीत भएको स्पष्ट पारे । उनले गाउँपालिकाले पठाएको शिक्षकको पुनः परीक्षा लिनु आवश्यक नभएको पनि बताए ।