क्यानाडा । क्यानाडाको शान्त र हिउँले ढाकिएको सहर सदबरीमा नेपथ्य ब्यान्डले आफ्नो यस वर्षको साङ्गीतिक शृङ्खलाको सुखद सुरुवात गरेको छ। ओन्तारियो राज्यको व्यापारिक केन्द्र टोरन्टोबाट झन्डै चार सय किलोमिटर टाढा रहेको सदबरीस्थित ‘सदबरी कम्युनिटी एरेना’मा शुक्रबार आयोजित कन्सर्टमा ब्यान्डले आफ्ना चर्चित लोकरक गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पारेको हो।
केही वर्षअघिसम्म नेपालीहरूको उपस्थिति न्यून रहेको यस सहरमा हाल करिब दुई हजार नेपाली बसोबास गर्छन्। नेपथ्यको जादुमय प्रस्तुति हेर्नका लागि दर्शकहरू निकै टाढाबाट यात्रा गरेर आएका थिए।
सन्ध्या खनाल नामकी दर्शक नेपथ्यको अनुभव लिनकै लागि १४ घण्टा गाडी चलाएर थन्डरबेदेखि सदबरी आइपुगेकी थिइन्। कन्सर्ट हेरिसकेपछि उनले भनिन्, ‘यति टाढाको बिरानो ठाउँमा पनि नेपालमै पुगेको जस्तो आभास भयो, यो मेरो जिन्दगीकै महत्त्वपूर्ण अनुभव हो।’
कन्सर्टमा नेपाली मात्र होइन, विदेशी दर्शकको पनि उल्लेखनीय सहभागिता थियो। फ्रान्सेली मूलका जाभिए गोत्सिए बुसेले भाषा नबुझे पनि नेपाली गीतमा लुकेको भावना र दर्शकको उत्साह देखेर आफू निकै प्रभावित भएको बताए।

मञ्चबाट गायक अमृत गुरुङले आफ्ना कालजयी गीतहरूसँगै राष्ट्रिय भावना र सामाजिक सन्देश पनि प्रवाह गरे। उनले नेपालको प्राकृतिक सुन्दरताको चर्चा गर्दै दर्शकलाई नेपाल जाँदा पदयात्रा गर्न प्रोत्साहन गरे। साथै, नेपालका दुर्गम गाउँमा अझै पनि बालबालिकाहरू शिक्षाबाट वञ्चित रहेको स्मरण गराउँदै उनले शिक्षाको क्षेत्रमा सहयोग गर्न प्रवासी नेपालीहरूलाई अपिल समेत गरे।
स्थानीय सामाजिक अभियन्ता रोजी बउलिउले नेपथ्यको यो भव्य प्रस्तुतिपछि सदबरीको वार्षिक सांस्कृतिक क्यालेन्डरमै नेपाली कार्यक्रमहरूलाई प्राथमिकताका साथ समावेश गर्नुपर्ने धारणा राखिन्।
सदबरीको कार्यक्रम सफलताका साथ सम्पन्न भएपछि नेपथ्यको टोली अब दोस्रो कन्सर्टका लागि टोरन्टो प्रस्थान गरेको छ। अप्रिल १३ सोमबारका दिन टोरन्टोस्थित ‘क्विन एलिजाबेथ थिएटर’ मा हुने कार्यक्रमको टिकट तीन साताअघि नै 'सोल्ड आउट' भइसकेको छ।
२५ सय क्षमताको उक्त हलमा हुने कार्यक्रमका लागि टोरन्टोका नेपालीहरू निकै उत्साहित देखिएका छन्। टोरन्टोपछिको अन्तिम कन्सर्ट अप्रिल १८ मा ओन्तारियो राज्यकै लन्डन सहरमा हुने तालिका छ।
मञ्चमा अमृत गुरुङलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए। आयोजक समितिका नदिश बस्नेतले सदबरीजस्तो सानो क्षेत्रमा नेपथ्यले कन्सर्ट गर्नु यहाँका नेपालीहरूका लागि गौरवको विषय भएको बताए ।